विश्वकप फुटबलको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै

काठमाडौं, भदौ १९ ।

विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ ।

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ ।

फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र परेकाले सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेल्न लागेको हो ।

विश्वकप छनौटको एसियाली समूह ‘बी’मा रहेको नेपालले कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेईसँग खेल्नेछ ।

नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । दुई देशविच अहिलेसम्म भएका ६ वटा खेलमध्ये ५ खेलमा कुवेत विजयी हुँदा एक खेल बराबरीमा साकिएको छ ।

यी ६ खेलमा नेपालले कुवेतसँग २२ गोल खाएको छ भने एक गोल मात्रै गरेको छ ।
(ईमेजखबरबाट साभार)