विश्वकप क्रिकेटको ट्रफीमा माछापुच्छ्रेको हिउँ टल्किँदा…..(फोटो फिचर)

पोखरा, कार्तिक १० ।
विश्वकप क्रिकेटको ट्रफी पोखरा ल्याईएको छ । शनिवार विहान पोखराका विभिन्न ठाउँमा ट्रफी प्रदर्शन गरिएको छ । अहिले पोखरा रंगशालामा ट्रफी राखिएको छ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति रहेकोले ट्रफी पोखरा ल्याईएको हो ।इंग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी अहिले विश्व भ्रमणमा छ । संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी हिजो नेपाल ल्याइएको हो ।

शनिवार विहान फेवातालको तालबाराही मन्दिरमा समेत ट्रफी राखिएको आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिईन् । उनका अनुसार ट्रफी आजै काठमाण्डौं फकाईने छ ।क्रिकेटको क्रेज बढाउन र पर्यटन प्रबद्र्धनका लागि समेत ट्रफी पोखरा ल्याईएको घिमिरेले बताईन् । ट्रफीलाई केहीबेर सराङकोटमा पनि राखिनेछ । समय मिलेसम्म बेगनास र रुपातालमा समेत ट्रफी लगिने घिमिरेले जानकारी दिईन् ।

निशान कम्पनीको सहायताले एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) हुँदै नेपाल ल्याइएको हो ।ट्रफी नेपालबाट भारत, न्यूजील्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ग्ल्याण्ड लगिनेछ । ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने जनाइएको छ ।

तस्विर–डिएनए