विरठाँटीमा खेलकुद प्यारापिट

पोखरा, बैशाख १४ ।
अन्नपूर्ण गाउँपालिका ८ विरेठाँटीमा खेलकुदका लागि प्यारापिट निर्माण गरिएको छ । जिल्ला खेलकुद विकास समिति, साविक गाविस, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीयको आर्थिक सहयोगमा प्यारापिट निर्माण गरिएको हो । प्यारापिट शुक्रबार गाउँपालिका अध्यक्ष युवराज कुवँरले विरेठाँटी माविलाई हस्तान्तरण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्यारापिट संरक्षण गरि नियमित रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

‘निर्माण भएर मात्रै हुँदैन । त्यसको संरक्षण सहित उपयोग पनि हुनुपर्छ, उनले भने–गाउँपालिकाले अर्को बर्षदेखि गाउँपालिका स्तरीय भलिवल यही मैदानबाट सुरु गर्नेछ । तपाईंहरुले साथ दिनुपर्छ ।’ उनले एक वडा एक खेलमैदानको अभियानमा गाउँपालिका रहेकोले यसको ब्यवस्थापनमा विशेष प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाए । अर्को प्रशंगमा उनले शिक्षकलाई गालि नगर्न अभिभावकसँग आग्रह समेत गरे । शिक्षकलाई गाली गरेर छोराछोरीले राम्रो नतिजा ल्याउने होईन । त्यसैले गाली गर्न छोड्दिनुस्, उनी भन्छन्–शिक्षकलाई सम्मान दिने हो । तव मात्रै शिक्षा राम्रो हुन्छ ।’ उनले शैक्षिक गुणस्तर बढाउन शिक्षक तालिममा जोड दिने बताए ।

टाईगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले निर्माण भएको प्यारापिटको अधिकतम उपयोग गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुपर्ने बताए । ‘खेलमैदान र प्यारापिट बन्नु महत्वपूर्ण होईन । महत्वपूर्ण त्यतिबेला हुन्छ, जतिबेला बिरेठाँटीबाट क्षेत्रीय र राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन्छन्, उनले भने–शिक्षासँगै खेलकुद पनि सँगै लैजान सके पहिचान छिटो फेरिन सक्छ ।’ करिब २२ लाखको लागतमा प्यारापिट निर्माण भएको निर्माण समितिका अध्यक्ष खगेन्द्र गौचनले जानकारी दिए । उनका अनुसार प्यारापिट बनाउन जिल्ला खेलकुद विकास समितिले ४ लाख, साविक दाङसिङ गाविसले २ लाख ५० हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले २ लाख ५० हजार, विरेठाँटी होटल ब्यवसायी समितिले १ लाख सहयोग गरेको र बाँकी रकम स्थानीय सँग चन्दा संकलन गरिएको हो ।

गौचनले प्यारापिट निर्माण पनि मैदानको ब्यवस्थापनमा सहयोग गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चन्द्रबहादुर गुरुङ, पश्चिमाञ्चल भलिवल संघका अध्यक्ष डिवि नेपाली, वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङ लगायतले बोलेका थिए । सोही अवसरमा प्यारापिट निर्माणमा सघाउने विभिन्न ब्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो ।