विमान दुर्घटना–विमानस्थलको गम्भीर लापरबाही (गोप्य सूचना कसरी बाहिरियो ?)

काठमाण्डौं, फागुन २९ ।
मंगलबार प्रकाशित सबै पत्रिकाहरुले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगालाको विमान दुर्घटना भएको समाचारलाई पहिलो प्राथमिकताका साथ प्रकाशित गरेका छन् । सोमबार दिउँसो भएको दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ । चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ । नेपाल समाचारपत्रका अनुसार सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए । यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ ।
दुर्घटनापछि विमानस्थलमा रहेको सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपी विमानस्थलका विभिन्न भागबाट छिरेका सर्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसकेको समाचारपत्रको समाचारमा उल्लेख छ । नेपाल समाचारपत्रमै एयर ट्राफिक कन्ट्रोलमा भएको संवाद जहाज र विमानस्थलको गोप्य दस्तावेज बाहिरिएको समाचार छ । यस्ता गोप्य दस्ताबेज बाहिरिनु भएको उड्डयन क्षेत्रका लागि अपराध भएको र यसका बारेमा अनुसन्धान गर्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताएको समाचारपत्रमा खबर छ । उड्डयन क्षेत्रमा भएको कन्ट्रोलरको संवादको बारेमा जानकारी पाउने अधिकार कसैलाई पनि हुँदैन यसका लागि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । यो संवाद कसरी बाहिरियो भन्नेबारेमा पनि अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।