विमानस्थल तोडफोड गर्ने सांसद साहलाई थप चार दिन हिरासतमा राखिने 

जनकपुर, असोज २९ ।

जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

हिरासतमा रहेका प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहलाई विमानस्थल तोडफोड घटनाको अनुसन्धान गर्न चार दिनको म्याद थप गरिएको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश तीर्थप्रसाद केसीले म्याद थपको अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले घटनाको छानविन गर्न १० दिनको म्याद मागेको थियो । तर ४ दिनको म्याद मात्रै थप गरिएको छ । आरोपित सांसद साहलाई पुनः कात्तिक १ गते जिल्ला अदालत धनुषामा पेश गरिने छ ।

सो अवधिमा अनुसन्धान भइसकेकोमा मुद्दा दर्ता गरि अदालती कारबाही प्रक्रिया अघि बढाइने छ । यदि अनुसन्धान हुन सकेन भने पुनः म्याद थप गरिने अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

म्याद थपका लागि अदालत लगिएका सांसद साहले संचारकर्मीसंग कुरा गर्दै न्यायपालिकामाथि आफूलाई विश्वास भएको र न्यायपालिकाले जे निर्णय गर्छ त्यो आफलाई स्वीकार्य भएको बताए ।

सोमवार काठमाडौ जाने विमान ढिलो भएका कारण सांसद साहले बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका थिए ।

घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरले विमान स्थलमा तोडफोड र विमान संचालनमा बाधा पुरयाएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । काठमाडामौ पक्राउ परेका सांसद साहलाई घटना अनुसन्धानका लागि मंगलवार जनकपुर लगिएको थियो । (ईमेजखबरबाट साभार)