विपन्न विद्यार्थीलाई सांसद दवाडीले थाले गोरखामा छात्रबृत्ति अभियान

पोखरा, पुस २२ ।
प्रदेशसभा सांसद प्र्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा यो बर्षको छात्रबृत्ति अभियान सुरु गरेका छन् । विपन्न र जेहेन्दार विद्यार्थीलाई लक्षित गरी उनले छात्रबृत्ति वितरण थालेका हुन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद दवाडीले १२ बर्षदेखि निरन्तर छात्रबृत्ति वितरण गर्दै आएका छन् ।

सोमबार सिरान्चोक ५ को चित्रेपोखरी माविका १० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको दवाडीले जानकारी दिए । उनका अनुसार सबै विद्यार्थीलाई १ बर्षको अध्ययन खर्च बराबरको सहयोग गरिएको हो । आफुले पहिले पढ्दा पाएको दुखलाई स्मरण गर्दै पैसाको अभावमा पढ्न नपाउने अवस्था अन्त्य गर्न छात्रबृत्ति वितरण गरेको उनले सुनाए ।

‘मैले पनि धेरै दुखका साथ पढेको हुँ । सामान्य खर्च नहुँदा स्कुल नै छोड््नुपर्ने धेरै विद्यार्थीको बाध्यता छ,’ उनले भने, ‘अव त्यो अवस्थाको अन्त्य हुनुपर्छ । यसमा मैले सकेको सहयोग गरेको हुँ ।’ गोरखा क्षेत्र नम्बर २ का अधिकांश विद्यालयमा उनले छात्रबृत्ति वितरण गरिसकेका छन् ।

‘पैसाको अभावमा पढ्न नसक्नेलाई किताव कापी किन्ने र स्कुलमा हुने अन्य खर्च बराबरको रकम दिएको छु । स्कुलको भवन निर्माणमा पनि उसैगरी सहयोग गरिरहेको छु,’ उनले अघि भने, ‘यो काम निरन्तर चल्छ । मैले कमाएको आम्दानीको केही प्रतिशत रकम समाज सेवा र शिक्षामा लगानी गरेको छु ।’ आफ्नो क्षेत्रका सबै विद्यालयमा सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

सांसद दवाडीले प्रदेशसभा सदस्य भए वापत राज्यले दिने सबै सेवा सुविधा पनि सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । सोही अनुसार विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।