विपक्षी सांसदको रिटमाथी शुक्रबारदेखि सुनुवाई हुने

पोखरा, जेठ ११ ।
विपक्षी १४६ सांसदहरुले सोमबार सर्वोच्च अदालतमा दिएको रिटमाथी शुक्रबारदेखि मात्रै सुनुवाई हुने भएको छ । विपक्षीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध सांसदहरु आफै उपस्थित भएर रिट दिएका थिए ।

रिटमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश पनि मागिएको छ । यस विषयमा सर्वोच्च अदालतमा २८ वटा रिट दायर भएका छन् । केपी ओलीको पक्षबाट पनि चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको विरुद्धमा छन् । २८ वटा रिटमध्ये ९ वटा रिट संवैधानिक इजलासमा सोझै जान्छन् । बाँकी १९ वटा रिटको पेशी सामान्य बेञ्चबाटै तोकिन्छ ।