विन्ध्यवासिनी मन्दिरका पुजारीलाई तलव, अवदेखि भेटि चलाउन नपाउने

पोखरा, असोज २२ ।
पोखराको विन्ध्यावासिनी मन्दिरमा करारमा पुजारी नियुक्त गरिएको छ । दर्शनार्थीले चढाएको भेटी र दान एकलौटी गरेपछि पुजारीलाई तलव दिएर राखिएको हो । केही समययता पुजारी र धार्मिक क्षेत्र विकास समिति बीच ठूलो विवाद थियो ।

यसअघि मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा अव उनीहरुले तलव मात्रै पाउनेछन् । समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार परम्परागत रुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गरि यस वर्षदेखि करारमा नियुक्त गरिएको हो ।

२०७२ कात्तिक २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भेटीघाटी व्यवस्थापन सम्बन्धी निर्देशिका जारी गरेको थियो । सोही निर्देशिका कार्यान्वयन गर्न खोज्दा पुजारीहरुले धार्मिक क्षेत्रविकास समिति विरुद्ध सर्वोच्चमा उजुरी हालको थिए । तर सर्वोच्चले पनि कुनै प्रतिक्रिया नदिएपछि पुजारीहरु तलवमा बस्न राजी भएका हुन् ।

मन्दिरमा यसअघि पाँच पुजारीले नियमित पूजाआजा गर्दै आएपनि करार ब्यवस्था गरेपछि दुईजना मात्रै पुजारी छन् । ३ जना पुजारीलाई चाहीँ ९÷९ लाख रुपैयाँ दिएर विदा गरेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । समितिले मूल पुजारी रुद्रनाथ पौडेललाई मासिक ३५ हजार र अर्का पुजारी श्रीराम पौडेललाई ३० हजार रुपैयाँ मासिक पारिश्रमिक तोकेको छ । मन्दिरमा दैनिक करिव ४ सय हाराहारीमा दर्शनार्थी पुग्छन् ।