विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु

पोखरा, असोज ५ ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको सुरुवात गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको महोत्सव असोज १३ गते नवमीको दिन सकिने छ ।
महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झाँकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा निकालिएको थियो । शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर टुंगिएको थियो ।
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान महायज्ञ समेत हुनेछ । समितिका अध्यक्ष गणेश वहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।