विद्युत प्राधिकरणमा घिसिङको तीन वर्ष पुरा, स्मार्ट मिटर राखेर स्वचालित बिलिङ कार्यान्वयनमा ल्याउने घोषणा

 

काठमाडौं, भदौ २९ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटर जडान गरेर टेलिफोनजस्तै स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।

तीन वर्षको अवधिमा आफूले गरेको काम र आगामी कार्ययोजनाबारे जानकारी दिँदै आइतबार पत्रकारहरुसँग उनले लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणको आन्तरिक सुधारमा लागेको बताए ।

घिसिङले चालु आर्थिक वर्षमा प्राधिकरणलाई डिजिटल बनाउने र इन्टरप्राइजेज रिसोर्स प्लानिङ प्रणाली लागू गरिने जानकारी दिए ।

घिसिङले आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन ध्यान केन्द्रित गरिने बताए । आफू प्राधिकरण आउनुअघि वर्षायाममा समेत ८ घण्टा लोडसेडिङ्ग व्यहोर्नुपरेको कहाली लाग्ने अध्यारो युगलाई उज्यालोमा परिणत गर्न सफल भएको उनको जिकीर थियो ।

तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक उर्जा खपत करिब १ सय ५० यूनिट रहेकोमा अहिले २ सय ४५ यूनिट पुगेको पनि उनले जानकारी दिए ।

प्राधिकरण होल्डिङ्ग संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने पनि घिसिङले बताए । संस्थागत सुशासनलाई कठोरताका साथ लागू गरिने भन्दै उनले कोठामा बस्नेसँग बिजुलीको बढी पैसा लिए घरबेटीलाई कार्वाही गर्ने चेतावनी पनि दिए । (ईमेजखबरबाट साभार)