विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता

काठमाडौं, असोज २२ ।
आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक सम्बृद्धितर्फ अघि बढ्न नसक्ने भन्दै प्रस्तावमा भनिएको छ, ‘भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ ।’
यसले व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने र भ्रष्टाचार नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना हुने प्रस्तावकको तर्क छ । ‘सरकारलाई २ वर्षको समयावधिभित्रनेपालमा नोट मुद्रालाई विद्युतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापन गर्न आवश्यक निर्देशन गर्न यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्छु ।’
सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र जीवन परियार छन् ।