विदेश जाने पासपोर्ट थमाउदै श्रम मन्त्री विष्टले भने–अव बाध्यताले काम गर्न बिदेशिनु पर्दैन

पोखरा, पुस २६ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा रोजगार विभागले पोखराबाटै श्रम स्विकृति दिन थालेको छ । विहिबार श्रम मन्त्री गोकर्ण विष्टले दुईजना यूवालाई विदेश जानका लागि पुनः श्रम स्विकृत गरिएको पासपोर्ट दिएपछि औपचारिक रुपमै श्रम स्विकृतिको काम पोखराबाट सुरु भएको हो ।

मन्त्री विष्टले नवलपुर पिठौलीका ३७ वर्षीय युवा खड्कबहादुर गुरुङलाई मकाउको लागि र प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले स्याङजा फेदिखोलाका चन्द्रमान गुरुङलाई आबुधाबी जानको लागि पासपोर्ट वितरण गरेका हुन् । दुवै जना २ बर्षका लागि बैदेशिक रोजगारीको श्रम स्विकृति लिन आएका थिए ।

खड्कबहादुर १२ वर्षदेखि मकाउमा कार्यरत छन् भने चन्द्रमान १८ वर्षदेखि खाडी मुलुकमा काम गर्दै आएका छन् । पोखराबाटै श्रम स्वीकृतिको राहदानी पाएपछि खर्च र समयको बचत भएको भन्दै उनीहरुले खुशी व्यक्त गरे ।

श्रम स्विकृति दिएपछि मन्त्री विष्टले ५ बर्षभित्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने दावी गरे । उनले २ बर्षपछि नेपाल फर्किएर रोजगार दुतको रुपमा काम गर्न ति यूवाहरुलाई समेत आग्रह गरेका छन् ।

श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख गणेशप्रसाद श्रेष्ठले हाललाई वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिने काम मात्रै हुने बताए । आगामी दिनमा थप सुविधा पनि दिइने उनले बताए ।