विदेशबाट आएका कुखुरा र चामल पकाएर, ब्राण्डेड रक्सी बेचेर होम स्टे चल्दैनः सांसद दवाडी

पोखरा, असार १७ ।
गोखराका सांसद प्रकाशचन्द्र दवाडीले सरकारले चलाउन लागेको होम स्टेले समृद्धी हासिल नहुने बताएका छन् । नेपालमै उत्पादन बढाउनुपर्ने भन्दै उनले विदेशी सामान होमस्टेमा बेचेर त्यसले नेपालीको जीवनस्तर नउकासिने बताएका हुन् । सांसद दवाडीले मंगलबार प्रदेशसभामा गरेको सम्बोधनको केही अंश

सभामुख महोदय,

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथी आज छलफल गर्दै छौं । पर्यटनलाई समृद्धीको प्रमुख आधार मानेर हिडिरहेको गण्डकी सरकारको तीनवटै पर्यटन बर्ष सफल होस्, हार्दिक शुभकामना । केही महिनाअघि रेडलाईट एरिया बनाउने कुरा आउँदा मुख्यमन्त्री ज्यूले सदनमै जवाफ दिनुपरेको थियो, सम्झना छ कि छैन ?

त्यसपछि ईन्जोय जोन कति विवादित बन्यो त्यो पनि हेक्का होला नि ? हाम्रो संस्कार र संस्कृति मासेर पैसासँग मात्रै समृद्धी देख्ने हो भने हामीलाई चाहिएन तपाईंको समृद्धी । अहिले कानुनले बर्जित गरेको क्यासिनो र जुवाघर खोल्नुपर्छ भनेर भाषण गर्नुभएछ, मुख्यमन्त्री ज्यू ले । चर्चामा आउनका लागि कानुनले अबैध ठानेका यस्ता विवादित कुराहरु बोल्दा सदनमा त्यसको जवाफ त दिनु पर्छ नै ।

सदन बाहिर प्रदेशलाई चन्द्रमामा पु¥याउने भाषण गर्नुहुन्छ तर संसदभित्र ति कुराहरु कहिलै पनि सुनिँदैन किन ? हाम्रो प्रदेश समृद्ध बनाउन जुवाघर नै खोल्नुपर्ने हो ? के अध्ययन गरेर बोल्नुभएको हो यि कुराहरु ? होईन भने प्रदेशकै बदनामी हुने गरी यस्ता भाषण गर्नु कहाँको न्यायोचित छ ? बरु आउनुस सदनमा छलफल गरौं । यहाँबाट पारित भएपछि बाहिरको कार्यक्रममा बोल्नु होला । छलफलको पहिलो थलो सदनलाई बनाऔं ।

सरकारले प्रदेशभित्रका पर्यटकीय गन्तब्यहरु छानेर प्रबद्र्धनको काम गर्न लागेको सुन्दा खुशी लाग्यो । तर भैरहेका ठाउँमा मात्रै पैसा खन्याएर कसरी पर्यटन प्रबद्र्धन हुन्छ ? खै नयाँ गन्तब्यको खोजी ? ‘कसैलाई चाहीँ दहीमा चिनी कसैलाई चाहीँ पानी नि नदिनी’, भने झैं चलिरहेका पर्यटकीय गन्तब्यमा पैसा हालेको हालै छ । नयाँ गन्तब्य खोजेर ल्यायो भने सुका पनि पर्दैन । यो सरकारको नियत छर्लङ्ग छ ।

बहुचर्चित होमस्टे काण्ड कार्यकर्ता पोस्नका लागि मात्रै बजेट विनियोजन भयो भनेर दुनियाँतिर विरोध हुँदा पनि सरकारले त्यसैलाई २५ करोड रुपैयाँ थपिदिएको छ । भारत र चीनबाट आएका कुखुरा र चामल पकाएर ब्राण्डेड रक्सी बेच्ने होम स्टेमा सरकारले कस्तो समृद्धी देखेको हो, मलाई अचम्म लागिरहेको छ । पैसा नदिनु भनेको होईन, पैसा दिने हो । तर दिईएको पैसा कत्तिको प्रभावकारी छ ? अनुगमन गर्ने चाहीँ कसले हो ? लक्ष्यमा चन्द्रमा र मंगलग्रह देख्ने हाम्रो सरकारले पँखेटा हाल्ने कहिले हो ? कि गाडी चढेर चन्द्रमा जाने बाटो खुलेको छ ?

पर्यटनको घोडा चढेर समृद्धीको गन्तब्य खोजिरहेको गण्डकी सरकारलाई मेरो सुझाव छ, साँच्चीकै पर्यटन हाम्रो पहिलो प्राथमिकता हो भने प्रदेशभित्रका कुनैपनि पर्यटकीय स्थल नछुटाईकन प्रभावकारी गुरुयोजना बनाऔं । र त्यसको प्रबद्र्धन गरेर पर्यटक बोलाऔं । नत्र कुराले चिउरा भिज्दैन सभामुख महोदय ।

पर्यटन भनेको पोखरामात्रै हो भन्ने हाम्रो मानसिकता अव बदलौं । फेवाताल मात्रै पर्यटन होईन, माछापुच्छ«े मात्रै पनि पर्यटन होईन, यिनिहरु पनि पर्यटन त हुन् तर यस्ता धेरै ठाउँहरु अरु जिल्लामा पनि छन्, सरकारलाई हेक्का होस् । गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, तनहूँ, बागलुङ, म्याग्दी लगायत जिल्लामा पनि पर्यटनको सम्भावना छ । किन यि जिल्लाहरुलाई बेवास्ता गरिएको हो ?

गोरखोको स्वाँरा सुलिकोट डाँडा हुँदै धार्चे निस्किने पदमार्गलाई किन वास्ता गरिएन ? राङरुङ, मान्द्रे, बारपाक, लाप्राक, गुम्दा हुँदै चुमनुब्रीबाट चाईना निस्किन सक्ने अर्को पदमार्ग छ । पालुङटारदेखि हंसपुर, खरिबोट हुँदै दुधपोखरीसम्म जाने पदमार्ग अहिले भग्नावशेस जस्तै छ । भच्चेकदेखि नम्की, सिरानडाँडा हुँदै नागेपोखरीको पदमार्ग तपाईंको बजेट कितावमा कतै देखिन मैले । के यि पदमार्ग विना तपाईंको पर्यटन समृद्धी सम्भव छ ?

रवर उद्योग, कागज कारखाना कतैपनि समेटेको पाईएन । सरकारले सक्दैन भने, निजी कम्पनीलाई यसको जिम्मा लगाऔं । अन्तमाः धेरै कुराहरु आईसके । सरकार पुतलीजस्तो बन्ने दावी गरेर हिडिरहेको छ । हामी लार्भामै सीमित भएको कुरा गरिरहेका छौं । सरकारले यति धेरै गल्ती गरिरहेको छ, प्रश्न ग¥यो भने हामी नयाँ हौं भनेर जवाफ दिन्छ । २ बर्ष पुग्न लागिसक्यो सरकार बनेको । अझै बच्चा छौं भन्छ । १०० बर्ष आयू भएको मान्छेलाई पो २ बर्ष केटौली उमेर हो । सरकारलाई हेक्का होस्, यो सरकारको आयू ५ बर्ष हो । त्यसैले अव बच्चा छैन, लक्का जवान भैसकेको छ । बच्चा छु भनेर उम्कीन पाईंदैन ।