विजयपुर खोलाको डाईभर्सन फेरि बगायो, पोखरा छिर्ने ठूला गाडी बाटैमा रोकिए

पोखरा, साउन ५ ।
पृथ्वीराजमार्ग अन्तर्गत पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन पुनः बगाएको छ । शनिबार रातीको बाढीले डाईभर्सन बगाउदा मालवाहक गाडी आवागमन बन्द भएको छ ।

डाइभर्सन भन्दा माथिसम्म बाढी पसेपछि गाडी पोखरा भित्रिन र बाहिरन समस्या भएको हो । विजयपुर पुलको फलाम चर्किएका कारण १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो । अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेका छन् ।

पानीको सतह घटेपछि डाइभर्सन मर्मत गरेपछि मात्र सवारी आवागमन सूचारु गर्ने तयारी छ । यसअघि पनि बाढीले गर्दा डाइभर्सनमा राखिएका ह्युम पाइप बगाएको थियो । अहिले भने ह्युम पाइप नबगाए पनि डाइभर्सनमा क्षति पुगेको छ ।

विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पाता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि साउन ५ गतेसम्म पनि पुल तयार भएको छैन ।