विकृतिको घेरो तोड्ने नाटक ‘घेरो’ पोखरा थिएटरमा

पोखरा, मंसिर २४ ।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नयाँ शैलिको नाटक मञ्चन भैरहेको छ । वालन शैलिमा प्रश्तुत गरिएको नाटक घेरो लोक नाटक हो । हालसम्म नेपालमा यस्तो शैलिको नाटक खासै धेरै छैन ।

मञ्चन शैलिजस्तै नाटक घेरो धेरै हिसावले फरक छ । समाजमा हुने सामान्य घटनाले पनि कसरी रुढीवाद पछ्याउँछ भन्ने कथाबस्तुलाई घेरोमा टपक्कै टिपेर उतारिएको छ ।

‘आजपनि हाम्रो समाजमा बोक्सीका नाममा, छाउका नाममा, लागोभागोका नाममा थुप्रै मान्छेहरुले दुख पाईरहेका छन् । देख्दा साना लागेपनि यस्ता घटनाले समाजमा ठूलो महत्व राख्छ, नाटकका लेखक केदार पौडेल भन्छन्–तिनै साना कुराहरुलाई समेटेर नाटक तयार गरिएको हो । कुरीति र अन्धविश्वासहरु कस्ता कुरामा अल्झिरहेका छन् भनेर देखाउन खोजिएको हो ।’

युथ क्रियसन थियटरले नाटक घेरोलाई मञ्चन गरेको हो । ‘घेरो नाटक हाम्रै समाजमा घटेको घटना हो । सामान्य विषयमा नाटक गर्नु चानचुने विषय रहेनछ, निर्देशक कपिल शर्माले भने–अन्यत्रका कथाबस्तु ल्याएर बनाईएका नाटक धेरै रुचाईन्छ । देखासिकीमा लागेर साँच्चै हाम्रा समाजका बास्तविकता कहिल्यै पनि नाटकमा आएनन् । हामी यो परम्परा चिर्न चाहान्थ्यौं । त्यसैको जग बसाएका छौं ।’

मंसिर २१ देखि सुरु भएको नाटक २९ गतेसम्म मञ्चन हुने युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिए । नाटकमा लक्ष्मण डुम्रे, सञ्जय न्यौपाने (प्राञ्जल), केदार पौडेल, ममता मञ्जुल, रामहरी अधिकारी (प्रसुन), एनिका सापकोटा र अञ्जना पौडेल कलाकारका रुपमा प्रश्तुत भएका छन् भने गीताङ्गेका रुपमा मधुसुधन पौडेल, ताराखर पौडेल र विनोद पौडेल छन् ।

नाटकमा दर्शकको आकर्षण बढ्दै गएको सचिव पोखरेलले बताए । ‘समाजका स–साना कुराहरुमै मानिसको जिन्दगी अल्झिरहेको हुन्छ, उनी भन्छन्–यस्तै अन्धविश्वासले जरा गाड्दा भएको सुख पनि हराइरहेको छ । त्यसैलाई नाटकमा देखाउन खोजिएको हो ।’

भूतप्रेतको नाममा झाँक्रीले सर्वसाधारणलाई लुट्ने र गाउँलेहरु डरले भुतुक्कै हुने समाजको कथा हो नाटक–घेरो । सामाजिक यथार्थलाई नाटकीय रोचकता दिने भजन शैलीको गीत र नृत्यले दर्शकलाई मनोरञ्जन त दिन्छन् नै, सँगै नाटकले मनै गह्रौं हुने गरी सन्देशसमेत दिन्छ ।

तस्विर साैजन्य-रुपिन्द्र प्रभावी