वामदेव ‘ब्याक’ भएपछि केन्द्र ताक्दै कास्कीका नेता, कांग्रेस पनि उस्तै

पोखरा, असोज ८ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन नलड्ने घोषणा गरेपछि नेकपाका स्थानीय नेताहरु तरंगित हुन थालेका छन् । स्थानीय नेताहरुका पक्ष र विपक्षमा चर्चा सुरु हुन थालेपछि सोमबार बिहानतिर नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे, ‘सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरुलाई अनुरोध गर्दछु, कास्कीको निर्वाचनबारे कुनै पनि नेताको पक्ष र विपक्षमा आफ्नो विचार नराखी मात्र पार्टीको आधिकारिक निर्णय पच्छ्याउनुहुनेछ ।’

थापा अहिले कास्की क्षेत्र नम्बर २ ‘क’का बहालवाला प्रदेशसभा सांसद पनि हुन् । उनकै चुनावी क्षेत्रमा आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । पार्टीका अध्यक्ष तथा प्रदेशसभा सांसद समेत भएकाले सो निर्वाचन क्षेत्रमा नेकपाबाट उम्मेदवारी दिनेलाई विजयी गराउनु थापाको दायित्व हो ।

पोखराको मेयर हुँदाको छवि अनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको निकटताका कारण पनि उनी शक्तिशाली मानिन्छन् । त्यसो त, यहाँका अग्रज नेता सोमनाथ प्यासी र खगराज अधिकारीसँगको ‘सामीप्यता’का कारण पनि उनी चर्चामै रहन्छन् ।

नेता गौतमले चुनाव नलड्ने घोषणासँगै उनले कार्यकर्तालाई किन निर्देशनात्मक आदेश दिए त? स्रोत भन्छ, ‘वामदेवले खुट्टा झिके पनि अझै कास्की उपनिर्वाचनमा को उम्मेदवार बन्छ वा पार्टीले कसलाई टिकट दिन्छ भन्ने टुंगो लागेको छैन । नेकपाको शक्ति सन्तुलन मिलाउन वामदेवको व्यवस्थापन आफैँमा चुनौतिपूर्ण छ । त्यसैले अन्तिम अवस्थामा वामदेवले नै आफ्नो अडान फेरे । उनको विकल्पमा उभिने हिम्मत कास्कीमा कसैसँग छैन ।’

‘यो पटक टिकट दिने भनेको केन्द्रले नै हो, केन्द्रले हामीसँग सिफारिस माग्यो भने हामी नाम दिन्छौँ’, कास्की अध्यक्ष थापाले भने, ‘चुनाव आउन अझै समय बाँकी छ, साथीहरुलाई आफ्ना कुरा राख्दा पार्टी अनुशासन मानौँ भन्ने मात्र मेरो आग्रह हो ।’ पार्टीमा लागेकाहरुको निश्चित अनुशासन हुन्छ, अनुशासनमा रहनुहोस् भन्ने आफ्नो आग्रहमा कसैलाई विभेद गर्न नखोजिएको उनले प्रष्ट पारे ।
पूर्वमन्त्री रवीन्द्र अधिकारीको चुनावी क्षेत्र भएकाले वामदेवपछि पहिलो दावेदार देखिएकी विद्या भट्टराईको चर्चा चले पनि निर्णय भने नभएको उनको भनाइ थियो । विद्या स्वयंले पनि उम्मेदवारीबारे आफूले एक हप्तापछि मात्रै निर्णय गर्ने अभिव्यक्ति दिएकी छन् । उनको भनाइले पनि पार्टी भित्र अझै शक्ति सन्तुलन मिलाउने प्रयत्न भइरहेको संकेत गर्छ । यद्यपि, विद्या पार्टीको आन्तरिक राजनीतिबारे कम जानकार मानिन्छिन् ।

त्यसो त, वामदेव नउठ्ने भएपछि सो क्षेत्रमा नेकपाकै तुलबहादुर गुरुङ, श्रीनाथ बरालहरुको पनि दावी रहेको छ । तुलबहादुर र श्रीनाथ दुबै माधवकुमार नेपाल खेमाका हुन् । तुलबहादुर केही समयअघिसम्म टिकटको दौडमा थिएनन् । कास्की जिल्ला सहइन्चार्थ श्रीनाथ चाहिँ आफूले पार्टीमा गरेको योगदानको मूल्यांकन हुनुपर्ने भन्दै अहिले पनि दौडमै रहेका छन् । ‘स्वभाविक रुपले मैले पनि इच्छा देखाएको हुँ, पार्टीले योग्य ठानेमा म पनि उम्मेदवारी दिन्छु’, उनले भने, ‘यो विषयमा पार्टीमा औपचारिक कुरा भने भएको छैन ।’

पार्टीको कास्की इन्चार्थ राजकाजी गुरुङ पनि टिकटको दौडमा छन् । तर, पार्टी इन्चार्जको जिम्मेवारीमा रहेकाले उनी आफैँले आफ्नो उम्मेदवारी दावा गर्नुभन्दा पनि परिस्थिति आफू अनुकूल होस् भन्ने चाहन्छन् । पूर्वएमालेहरुले टिकट नपाए पूर्वमाओवादीतर्फ राजकाजी स्वभाविक रुपले सो क्षेत्रका पहिलो दावेदार हुन् ।

कांग्रेसको हालत पनि उस्तै

नेकपाभित्र टिकट कसले पाउने भन्ने रस्साकस्सी सतहमा आइनपुग्दै नेपाली कांग्रेसमा भने ‘टिकट पाउन म्याराथन’सुरु भइसकेको छ ।

कास्की कांग्रेसका सबैजसो आंकाक्षीहरु टिकट पाएमा सजिलै विजयी हुने दावी गर्दै चुनावी अभियानमा होमिएका छन् । मंगलबार बिहान रवीन्द्रका जन्मस्थान भरतपोखरी क्षेत्रमा भएको कांग्रेस जागरण अभियानमा बोल्ने वक्ताहरुले पनि यो पटकको चुनाव कांग्रेसको लागि अनुकूल भएको दावी गरे ।

पूर्वअर्थमन्त्री महेश आचार्य प्रमुख अतिथि रहेको विरोधसभामा बोल्नेहरुले सरकारको अलोकप्रियता नै कांग्रेसको लागि सहज विजयको आधार भएको जिकिर गरे । तर, कांग्रेसको लागि कास्की क्षेत्र नम्बर २ सहज क्षेत्र भने हैन ।

कांग्रेस महासमिति सदस्य ऋषि काफ्लेले अहिलेको माहौल कांग्रेसका लागि राम्रो भए पनि चुनाव नै जित्न भने अझ मेहनत गर्नुपर्नेमा जोड दिए । तरुण दलको राजनीतिबाट माथि आएका उनले भने,‘हामीले जनतासँग भिजेका मान्छेलाई टिकट दिन सकिएन भने यो पटक पनि जीत हात पर्दैन ।’ चुनावी दौडमा रहेका उनले आफूले टिकट पाएमा विजय हात लाग्ने दावी गर्दै कांग्रेसले यसअघि गरेका गल्तीमा क्षेमा माग्न ढिलाई गर्न नहुने धारणा राखे ।

नेपाली कांग्रेस स्रोतका अनुसार नेकपाले जस्तै यो पटक कांग्रेस उम्मेदवारको छनौट पनि केन्द्रबाटै हुँदैछ । शेरबहादुर देउवा स्वयं यो चुनावमा जित्ने उम्मेदवारलाई टिकट दिने धारणा राख्दै आएका छन् । उनकै पुरानो खेमाका खेमराज पौडेल, कुनै बेलाका सहकर्मी महादेव गुरुङ, अघिल्लो पटक सोही क्षेत्रमा रवीन्द्रसँग चुनाव लडेका देवराज चालिसे, युवानेता गुरु बराल, महासमिति सदस्य उज्वल बरुवाल, वीरेन्द्रनारायण बिजुक्छे, कृष्ण कार्की पनि चुनावी दौडमा छन् ।

कास्की क्षेत्र नम्बर २ मा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले पनि चासो देखाएका छन् । तर, चुनावी क्षेत्रमा स्याङ्जाबाट बसाईँ सरेकाहरुको बाहुल्यता रहे पनि धनराजलाई टिकट पाउनेमा भने आशंका रहेको छ । कृष्ण कार्कीजस्ता चुनावी दौडमा रहेकाहरुले नै बाहिरका उम्मेदवारलाई टिकट दिन नहुने धारणा सार्वजनिक रुपमा नै राख्दै आएका छन् ।

‘मुख्य कुरा त पार्टी्भित्रको व्यवस्थापन नै हो’, काफ्लेले भने, ‘म सो क्षेत्रमा उम्मेदवार हुन लायक छु, पार्टीले टिकट दिँदा सबै कुरा विचार पु¥याउनुपर्छ ।’ उनले वामदेव चुनाव लड्न आए सबैभन्दा बलिया उम्मेदवार वामदेव नै हुने र त्यसपछि विद्या र अन्य प्रतिष्पर्धी रहेको विष्लेषण गरे ।

कांग्रेसलाई आफ्नो मत जोगाउँनै समस्या

चुनावकै मुखमा साझा पार्टीले कांग्रेसकी युवा नेतृ रजनी केसीलाई पार्टी प्रवेश गरायो । उनलाई केन्द्रीय सदस्य नै बनाइयो । पोखरा विश्वविद्यालयकी जागिरे रजनीको पार्टी प्रवेशलाई साझाले सानो चुनावी विजयजस्तै प्रचार ग¥यो । अघिल्लो चुनावमा सो क्षेत्रबाट उम्मेदवारी दिएका साझाका उम्मेदवारले ८ सयको हाराहारीमा मत ल्याएका थिए ।

रजनीको पुरानो कांग्रेसी सम्बन्धका कारण कांग्रेससँग बिच्किएकाहरुले उनलाई भोट हाल्ने सम्भावना छ तर त्यो जितको लागि निर्णायक हुन भने गाह्रो छ । ‘बरु कांग्रेसको भोट बैंकमा हुने आक्रमणले हामीलाई गाह्रो भने बनाउन सक्छ’, काफ्लेले भने,‘ राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टी र नयाँ शक्तिका उम्मेदवारले पनि तान्ने भनेको हाम्रै भोट हो, त्यसमा हामी सचेत भने बन्नैपर्छ ।’

सो क्षेत्रमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी ८ हजार ५ सय ४६ मतान्तरले विजयी हुँदा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
पत्रकार बासुदेव मिश्रले नेपालखवरका लागि लेखेका हुन् ।