वागी फकाउँदै उम्मेदवार

प्रकाश ढकाल
पोखरा, कार्तिक १९ ।
आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी हालेपछि आधिकारिक उम्मेदवारहरु वागीलाई फकाउन लागिरहेका छन् । सम्बन्धित राजनीतिक दलले पनि वागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेको छ ।
यद्यपी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरु केही चाहीँ फिर्ता लिने तयारीमा छन् भने केहीले चाहीँ उम्मेदवारी फिर्ता नहुने बताईरहेका छन् । निर्वाचन आयोगले आईतबार मनोनयन फिर्ता लिने समय तोकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका अनुसार जिल्लामा ६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धनको विरोध गर्दै वागी उम्मेदवारी दिएका एमाले नेता टिकाराम पगेनीको उम्मेदवारी भने निर्वाचन कार्यालयले खारेज गरिदिएको छ । उनीमाथी सरकारी लाभ लिएर पनि उम्मेदवारी दिएको आरोपसहित उजुरी परेको थियो । उजुरीको सुनुवाई गर्दै निर्वाचन आयोगले उम्मेदवार बन्न पाउने आधार पेश गर्न निर्देशन गरेकोमा पगेनीले प्रमाण पेश गर्न नसकेको भन्दै उम्मेदवारी रद्ध गरिएको निर्वाचन अधिृकत जगन्नाथ पौडेलले जानकारी दिए । पगेनी विरुद्ध वाम गठबन्धनका आधिकारिक उम्मेदवार दिपक कोइरालका प्रतिनिधी अमरदिप पराजुलीले उजुरी दिएका थिए । उम्मेदवारी रद्ध भएपछि पगेनीले चाहीँ पार्टी र उम्मेदवारको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
‘एमाले र माओबादीका शीर्ष नेतासँग छलफल भयो । छलफलमा मलाई वहाँहरुले आगामी दिनमा पूर्ण सघाउने सहमति भएको छ, उनी भन्छन्–कार्यकर्ता र नेताहरुको आग्रहमै मैले उम्मेदवारी फिर्ता लिन लागेको हुँ । माओबादीबाट उम्मेदवार बन्नुभएका कोइरालालाई पूर्ण समर्थन गर्नेछु ।’ एमालेको जग आँफैले हालेको भन्दै आँफैले बनाएको घरलाई बलियो बनाउनका लागि उम्मेदवारी फिर्ता लिन लागेको उनको स्पष्टोक्ति छ । पार्टी संगठनले कार्यकर्ताको मर्म नबुझि आँफुखुशी गठबन्धनको नाममा पूराना कार्यकर्तालाई लत्याएको आरोप लगाउँदै उनले वाम गठबन्धनबाट कास्की क्षेत्र नम्बर १ को प्रदेशसभा (क) अन्तर्गत साझा उम्मेदवार बनेका माओबादी नेता दिपक कोइराला विरुद्ध वागी उम्मेदवारी दिएका थिए । उनी एमाले कास्की क्षेत्र नम्बर १ का पुर्व क्षेत्रीय कमिटि अध्यक्ष र हाल जिल्ला निर्वाचन कमिटिका अध्यक्ष समेत हुन् ।
उता काँग्रेसको वागी बनेका नरेशशंकर पालिखेले भने उम्मेदवारी नफर्काउने दोहो¥याएका छन् । आफुँ पार्टीप्रति आस्थावान कार्यकर्ता हुँदाहुँदै पार्टीले मुल्यांकन नगरेको आरोप लगाउँदै कास्की क्षेत्र नम्बर २ (ख) मा उनले वागी उम्मेदवारी दर्ता गरेका छन् । ‘आस्था र विश्वास सहित निष्ठाको राजनीतिक गर्ने मान्छे कहिलैपनि बिचलित हुँदैन । एकपटक अगाडी बढिसकेको छु, फर्किने सम्भावना छैन, उनले भने–चुनाव जित्ने योजनाका साथ भोट माग्न थालिसकेको छु । म अगाडी बढिसकें ।’ चुनाव जितेर आफ्नो क्षेत्रलाई नेपालकै उत्कृष्ट बनाउने उनको भनाई छ । पालिखे सबैभन्दा सानो उमेरमा (२८ बर्ष) पोखराका उपमेयर भएका ब्यक्ति हुन् भने सानै उमेरमा काँग्रेसले मेयरको टिकट समेत दिएको थियो । पोखरा नगरका नगरसभापतिमा सचिव हुँदै २ पटकसम्म सभापति र पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत भैसकेका छन् ।
४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा चुनाव लडेर पराजीत भएका उनी काँग्रेस कास्कीको जिल्ला कोषाध्यक्ष र सचिव समेत भैसकेका थिए । त्यसपछि लगातार २ पटक महासमिति सदस्य भएका पालिखे हाल पार्टीको महाधिबेशन प्रतिनिधी छन् । उनी २०४६ सालमा एमविए तर्फ नेपाल टप भएर गोल्ड मेडल समेत जितेका थिए । पालिखेलाई पार्टिले सम्पत्तिको रुपमा लिनुपर्ने भन्दै केही नेता तथा कार्यकर्ताले उम्मेदवारी सही भएपनि पार्टीभित्रै अन्तरसंघर्ष गर्न सुझाएका छन् । ‘वहाँ काँग्रेसको सम्पत्ति हो । चित्त नबुझे पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, पार्टीका एक नेताले भने–यस्तो बिषम परिस्थीतीमा वागी उम्मेदवार बन्दा पार्टीलाई त घाटा हुन्छ नै । वहाँ स्वयंलाई पनि फाईदा हुँदैन ।’
काँग्रेसबाटै वागी उम्मेदवार बनेका अजिमबक्स मियाँ भने फिर्ता लिने तयारीमा छन् । कास्की क्षेत्र नम्बर १ (क) मा आधिकारीक उम्मेदवार जीवन परियारको विरुद्ध उम्मेदवारी दिएका उनी पार्टी नेता तथा कार्यकर्तासँगको छलफलपछि फिर्ता लिने तयारीमा लागेको बताउँछन् । ‘पार्टी नेतृत्वको कामले म रुष्ट भएको हुँ, उम्मेदवारसँग होईन । तर वाम गठबन्धनको चरम अवस्थामा मैले पार्टीलाई धोका दिनुहुँदैन, उनले भने–आधिकारिक उम्मेदवारलाई सघाउने गरी फिर्ता लिँदैछु । निर्वाचन आयोगले तोकेको समयमै उम्मेदवारी फिर्ता हुन्छ ।’
प्रतिनिधीसभा अन्तर्गत क्षेत्र नम्बर १ मा ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिए । विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमका गण्डकी धवलागिरी संयोजक कार्कीले स्थानीय नेता कार्यकर्तासँग छलफल नगरी नेतृत्वले आँफुखुशी पार्टी विलय गराएकोप्रति गुनासो गर्दै उनले कार्यकर्ताको भावना अनुरुप उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टी नेतृत्वको कदम हामीलाई चित्त बुझेन । कार्यकर्ताको भावना नमर्ने गरी मैले उम्मेदवारी दिएको हुँ, उनले भने–अवस्था विषम खालको छ । वाम गठबन्धनको विरुद्ध भएपनि लोकतान्त्रीक शक्तिलाई सघाउनुपर्छ, मेरो उम्मेदवारी फिर्ता हुन्छ ।’
प्रतिनिधीसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका निर्मल खत्री उम्मेदवारी फिर्ता नलिने तयारीमा छन् । ‘सैद्धान्तिक हिसावले कमजोर राजनीतिक पार्टीका कारण देश कमजोर बनेको हो । भावी सन्ततीले पनि यही अवस्था गुजार्नुपर्ने अवस्थाका कारण उठेको नागरिक आवाज हो, हामी निकै अगाडी बढेका छौं । कुनैपनि हालतमा ब्याक हुँदैन ।’ खत्रीले आँफुले सम्मानजनक भोट ल्याएर देखाईदिने दावी गरेका छन् । सुरुमा साझा पार्टीको प्रदेश स्तरीय सम्पर्क ब्यक्ति भएपनि विवेकशील पार्टीसँग मर्जर भएपछि पूराना कार्यकर्ताको भावना समेट्न नसकेको उनको आरोप छ । अहिले स्वतन्त्र रुपमै रहेर उम्मेदवारी दर्ता गरेको उनले बताए । यो क्षेत्रमा विवकेशील साझा पार्टीले पनि उम्मेदवार दिएको छ ।
अर्का उम्मेदवार दुर्गादत्त तिमिल्सीना आफुँ कुनैपनि पार्टी लक्षित उम्मेदवारी नभएकाले फिर्ता नहुने बताउँछन् । फिर्ता लिनका लागि उम्मेदवारी दर्ता नगरेको भन्दै चुनावमा सहभागी भएरै छाड्ने उनको भनाई छ । कास्कीमा ६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।