वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना

 

पोखरा, माघ ४ ।

पोखरा महागनरपालिका वडा नम्वर १५ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरिन् । केन्द्र उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले न्यायिक समितिले आफनो क्षेत्र अधिकारभित्र बसेर न्याय सम्पादन गर्ने बताइन् ।

उनले महानगर र गाँउपालिकालाई एउटै प्रकृतिका विवाद दिदाँ समस्या भएको बताइन् । उनले महानगरपालिका हुन जुनजुन मापदण्ड कायम गरिएको हुन्छ, त्यही आधारमा विवाद हेर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने बताइन् । उनले न्याय सम्पादन गर्दा निष्पक्ष, तटस्थ र स्वतन्त्र रुपमा गर्नुपर्नेमा जोड दिइन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताउदै आस्थाका आधारमा पूर्वाग्रह राखेर नभई विवादका पक्षहरुको मन मिलाउने गरी गर्नुपर्नेमा जोड दिइन् ।

न्यायिक समितिका सदस्य किशोर बरालले न्यायिक समितिका गठन, समितिको क्षेत्राधिकार, समितिले हालसम्म गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराए । उनले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको बताउदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम,कर्तब्य र अधिकार बारे जानकारी गराए ।

पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले वडाका विवाद समस्या समाधानमा सहज हुने बताए । उनले अहिले सम्म ११९ वटा विवाद दर्ता भएको र केही समाधान गरिएको बताए । न्यायिक समिति सदस्य पार्वती कार्कीले वडा तहका विवादलाई मेलमिलाप मार्पmत समाधान गर्दा सामाजिक सद्भाव कायम हुने बताइन् ।वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रकाश थापाले सामान्य विवादहरु वडा तहबाटै समाधान हुने अवस्थाले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने प्रक्रियामा सहज हुने बताए । मेलमिलापकर्ता गणेश आले कुनै प्रभाव र दबाबमा नपरी मेलमिलापबाट विवाद समाधानमा लाग्ने प्रतिबद्धता लगाए ।

पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा को सञ्चालन महानगर कानुन महाशाखाका कानून अधिकृत राममणी अधिकारीले गरेका थिए । न्यायिक समितिले दोश्रो चरण अन्र्तगत पोखरा १, २, ५, ६, ८, १०, १६, १९, २८ मा मेलमिलाप केन्द्र स्थापना गरेको छ ।

न्यायिक समितिले महागनरका ३३ मध्य २० वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ ।महानगरमा १७४ जना मेलमिलापकर्ता सुचिकृत भएका छन् ।