वडा नं ९ मा बालबालिका सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

 

पोखरा, फागुन १३ ।

बालमैत्री स्थानिय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा वडा नं ९ भित्र रहेका बालबालिकाहरुको अवस्था सर्वेक्षण सम्बन्धि अभिमुखीकरण तालिम मंगलबार सम्पन्न भएको छ ।

वडा नं ९ भित्र रहेका घरधुरी, परिवारसँगै बालबालिकाहरुको अवस्था के–कस्ता रहेका छन् भनेर तथ्याङ्क संकलन गर्नका लागिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए । उनले सर्वेक्षणमा संमग्र परिवारको विषयबस्तुलाई समेटिएको भन्दै विशेष प्राथमिकता बालबालिकालाई राखिएको बताए । बालअधिकारको क्षेत्रमा वडाले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको भन्दै १८ बर्ष उमेर समूह सम्मका बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नका लागि यस सर्वेक्षणले सहयोग पु¥याउने लामिछानेको भनाई थियो ।

कार्यक्रममा बोल्दै टोल बिकास संस्था समन्वय समितिका अध्यक्ष उत्तम जोशीले बालमैत्री वडा बनाउनका निम्ति यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए । बालबालिकाको अवस्थालाई स्थानिय देखि सम्बन्धित निकायले चासो लिन जरुरी रहेको भन्दै वडा नं ९ मा बालबालिकाहरुको लागि खेल मैदान र पार्क स्थापना गर्न अतिआवश्यक रहेकोमा उनको जोड थियो ।

वडा नं ९ मा हालसम्म २ वटा टोल विकास संस्था बालमैत्री टोल घोषणा भैसकेका छन् । जसमा संगम मार्ग टोल विकास संस्था र शान्ति दर्शन टोल विकास संस्था रहेका छन् ।

उक्त कार्यक्रममा वडा नं ९ का टोल विकास संस्था, आमा समूहका करिब ५० जना प्रतिनिधिहरुलाई बालबालिकाको अवस्था सर्वेक्षण फारम भर्नका निम्ति बालमैत्री स्थानिय शासन वडा समन्वय समितिका कार्यक्रम संयोजक भावना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

सो कार्यक्रममा वडा नं ९ का सदस्य राममाया मानन्धर, गिता चर्माकार, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोला, बालमैत्री स्थानिय शासन वडा समन्वय समिति कास्कीका सदस्य वन्दना केसी, वडा नं ९ भित्र रहेका टोल बिकास संस्था, आमा समूहका प्रतिनिधि लगायतहरुको सहभागिता रहेको थियो ।