वडा अध्यक्षकै संलग्नतामा युवकलाई कुटपिट

अछाम, वैशाख ११ ।

अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी बीरबहादुरलाई कुटपिट गरेको उनका दाई कृष्ण थापाले जानकारी दिएका छन । वैशाख ९ गते साँझ बिद्यालयमा मजदुरी काम गरेर घर फर्किने बेला पसलमा चिया खान जाँदा बुढाले मरणासन्न हुने गरी कुटपिट गरेको उनको भनाइ छ । चिया खाएर सामान किनिरहेको अवस्थामा बीरबहादुरलाई २ जना मिलेर आँखा नै बन्द हुने गरि कुटपिट गरेको थापाले बताए ।

कांग्रेसबाट निर्वा्चित वडा अध्यक्ष बुढाले पार्टीगत रिसिइबीका कारण आफ्नो भाईलाई मरणासन्न हुने गरि कुटपिट गरेको थापाको आरोप छ । बीरबहादुर थापाको आँखा, नाक, मुख लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल अछाममा उपचार भईरहेको कृष्ण थापाले जानकारी दिए । घट्नाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय अछामको टोली बलाता पुगेको र पीडक भनिएकाहरु नभेटेपछि फर्किएको बताईएको छ । कुटपिटमा संलग्न भनिएका ब्यक्तिहरु भेटिएपछि कारवाही हुने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए । प्रहरीले घटनाबारे थप जानकारी लिईरहेको उनको भनाइ छ ।