वडाध्यक्ष बास्तोलाले गरे मिलन केन्द्रलाई सहयोग

पोखरा, जेठ १४ ।
पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले विन्ध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष निर्वाचित भएपछि बास्तोलाले महानगरको कार्यपालिका बैठकबाट प्राप्त गर्ने बैठक भत्ताबापतको रकम मिलन केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पूर्व प्रतिबद्धता अनुसारको रकम १० हजार २ सय रुपैयाँ मिलन केन्द्रका संयोजक रमेश अधिकारीलाई विशेष कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

‘म निर्वाचित हुने वित्तिकै जेष्ठ नागरिकको सम्मानमा लगानी गर्नुपर्छ भन्ने सोचेर मिलन केन्द्रलाई सहयोग गर्ने बाचा गरेको थिएँ । गएको १ बर्षमा प्राप्त भएको १२ हजार रुपैयाँ बैठक भत्ता मध्ये कर कट्टि गरी १० हजार २ सय रुपैयाँ आज हस्तान्तरण गरेको छु, उनले भने–आगामी दिनमा पनि सहयोग गरिरहनेछु ।’ जेष्ठ नागरिकलाई राज्यले विशेष ब्यवस्था गर्नुपर्ने उनको धारणा छ । वडाध्यक्ष बास्तोलाले वडास्तरमा जेष्ठ नागरिक सम्मान पनि निरन्तर चल्ने प्रतिबद्धता जनाएका छन् ।