लोकतन्त्रको नाममा लुटतन्त्रको राज–थापा

पोखरा, भदौ २९ ।
पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा नेपालमा लुटचन्त्र मच्चिएको बताएका छन् । उनले ठूला दलका केही नेताहरुले लोकतन्त्रको आडमा भ्रष्टाचार र अनियमितता बढाएको आरोप लगाए । ‘संविधानपछि प्रजातन्त्र जुन हिसावले स्थापित र संस्थागत हुनुपथ्र्यो त्यो भएन । नेताहरुले प्रजातन्त्र खल्तीमा हालेर लोकतन्त्र अहिले लुटतन्त्रमा परिणत भएको छ, उनले भने–राज्यका सबै संयन्त्र भ्रष्टाचार र तीव्र पार्टीकरणमा पुगेका छन् ।’
उनले दिनहुँ भ्रष्टाचार र अनियमितताका समाचार आईरहँदा पनि सरकार मौन बस्नुले यसको प्रमाण पूरा हुने बताए । ‘आयल निगमको अनियमितता पहिलेदेखि नै थियो । अहिले प्रमाण सहित आउँदा पनि अख्तियारले कुनै कारबाही अगाडी नबढाउँदा यो काण्ड रहस्यमयी छ, उनी भन्छन्–प्रचण्ड सरकारले बिधी र प्रक्रिया मिचेर ठाडो आदेशमा बुढीगण्डकी आयोजना बिदेशीलाई दिँदा अरबौंको चलखेल भएको आशंका छ ।’ थापाले कानुन सम्मत ढंगले आयोजना निर्माण अगाडी बढाउनुपर्नेमा जोड दिए ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले राज्यका संवैधानिक निकाय र अदालत समेत पार्टीकरण हुँदा जनतामा न्याय र प्रजातन्त्रप्रति आस्था घट्न थालेको बताए । ‘अहिले न्यायलय निष्प्रभावी बनेको छ । सर्वसाधारणले न्यायलयबाट न्याय र सरकारबाट संरक्षण पाउँदैनन्, उनले थपे–राज्य ब्यवस्थामा विस्तारै धमिरो लागेको छ । यसको आमुल परिवर्तन आवश्यक छ ।’ उनले यसको परिवर्तनका लागि जनस्तरबाट पनि दवाव सिर्जना गर्नुपर्ने औंल्याए ।
अध्यक्ष थापाले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोग असफल भएको टिप्पणी गरेका छन् । आचारसंहिता लागू भएपछि पनि सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा लगायतका काम गर्दा आयोगले आचार संहिता उलंघन भएको भनेपनि कारबाही गर्न नसकेको उनको भनाइ छ । निर्वाचनको निश्पक्षतामाथि नै गम्भीर प्रश्नचिन्ह उठेको भन्दै राप्रपा अध्यक्ष थापाले आचारसंहिता पालनालाई सशक्त र प्रभावकारी बनाउन आयोगलाई आग्रह गरे ।
थापाले पार्टी फुटको असर मनोवैज्ञानिक रुपमा भएपनि सांगठनिक रुपमा नभएको दाबी गरे । आगामी चुनावमा पार्टीले मत र स्थान सुधार गर्ने उनले बताए । ‘बिभाजन असामान्य घटना हो । यसले मनोबैज्ञानिक र राजनीतिक प्रभाव परेकै छ, उनले भने–तर यो क्षणिक हुन्छ । छिट्टै रिकभर गर्छौं ।’ उनले हिन्दु राज्य र संबैधानिक राजतन्त्रलाई कहिलै नछाडेको र आगामी दिनमा पनि यही एजेण्डा स्थापित गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।