लोकतन्त्रका दृष्टिले खराब बन्यो वर्ष २०१९, नेपाल ९२औँ स्थानमा

 

एजेन्सी, माघ ९ ।

लोकतन्त्रका दृष्टिले वर्ष २०१९ खराब रहेको एक प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टको डेमोक्रेसी इन्डेक्सले संसारको अवस्था खस्कँदो देखाएको हो ।

बेलायतबाट निस्कने दि इकोनोमिकको रिसर्च विभाग इन्टिेलिजेन्स युनिटले प्रतिवेदन निकालेको हो । विश्वका १६७ मुलुकको अध्ययनका आधारमा प्रतिवेदन निकालिएको जनाइएको छ ।

इन्टेलिजेन्स युनिटले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार सन् २०१९–२०२० सम्म रहनेमा आशा गर्दछौँ भन्दै चीन र भारतसँगको सम्बन्ध सन्तुलित गर्नु नेपालको विदेश नीतिको लागि महत्वपूर्ण हुने जनाएको छ ।

यी दुबै देशको वित्तीय सहायताबाट नेपाललाई फाइदा पुग्नेछ भन्दै सन् २०१९–२०२० मा वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ७ प्रतिशत औसत रहने अनुमान पनि गरेको छ । ठूलो मात्राको व्यापार घाटा नीति निर्माताहरुका लागि चिन्ताको विषय बनेको उसले जनाएको छ ।

नागरिकको व्यक्तिगत स्वतन्त्रताको अवस्था, बहुलवाद, अभिव्यक्ति र प्रेस स्वतन्त्रता, राजनीतिक संस्कृति, चुनाव प्रणाली, कानुनी राज्यको स्थिति, शासन सञ्चालनमा विदेशी प्रभावको स्थितिलगायत विभिन्न ६० वटा मापदण्ड र मूल्याङ्कनका आधारमा यसको निर्धारण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टले वर्षेनी निकाल्दै आएको इन्डेक्समा नेपालको स्थान ९२ औं मा परेको छ । सन् २०१८ को तुलनामा नेपालले पाँच स्थान सुधारेको हो । गत वर्ष नेपाल ९७ औं स्थानमा थियो ।

भारत भने १० स्थान तल झर्दै ५१ औ स्थानमा रहेको छ । ४१ औं स्थानमा रहेको भारतको स्थान तल झर्नुमा जम्मु काश्मीरमा धारा ३७० हटाउनु, असममा एनआरसीको लागु र विवादित नागरिकता कानुन जस्ता कारणलाई मानिएको छ ।

ल्याटिन अमेरिकी, उपसहारा अफ्रिका र पश्चिम एशिया क्षेत्रका कराण समग्र स्थिति अस्कँदो रहेको जनाइएको छ । अधिकांश एशियाली देशको सूचकांक गिरेको छ ।

नर्वे सबैभन्दा उच्च स्थानमा रहँदा अमेरिका २५औँ स्थानमा समेटिएको छ । अष्ट्रेलिया नवौँ, जापान २४औँ, इजरायल २८ औँं र बेलायत १४औँ स्थानमा छ । चीन १५३ औँ, पाकिस्तान १०८ औँ, बंगलादेश ८० औँ र श्रीलंका ६९ औँ स्थानमा छ । तल उत्तर कोरिया भने सबैभन्दा तल अर्थात् १६७ औँ स्थानमा रहेको उल्लेख गरिएको छ ।