लेखा र कर नीतिबारे अभिमुखिकरण

पोखरा, असोज ४ ।
सनराइज बैंक लिमिटेडको आयोजना तथा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरतामा हामीसंगसंगै भन्ने नाराका साथ बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले महिला व्यवसायीहरुले लेखा र लेखाको विषयमा अनिवार्य रुपमा जान्नु पर्ने बताइन् । महिलाले घर, परिवार र समाजका गरेको कामको गणना हुन नसकेको उल्लेख गर्दै उनले महिलाहरु सीपमुलक तालिम लिएर आय आर्जनमा जुट्नु पर्ने धारणा राखिन् ।

 

बैंकका चिफ म्यानेजर हरिप्रसाद आचार्यले सरस्वती, लक्ष्मी र दुर्गा जस्तै महिलाहरु ज्ञान, अर्थ र शक्तिको श्रोत भएको बताए । ट्रयाक्टर चढेर काठमाण्डौ जान नसकिए जस्तै व्यवसायीलाई प्राविधिक ज्ञान आवश्यक भएको चर्चा गर्दै उनले महिलाले व्यवसाय गर्दा अनुदान र राजश्वमा छुट रहेको धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले करको दर भन्दा पनि दायरा बढाउनु पर्ने सुझाव दिए । उनले एकद्धार प्रणालीबाट कर तिर्ने व्यवस्था हुनु पर्ने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले बैंकसंग वित्तिय साक्षरता, कर तथा लेखाको अभिमुखिकरण गर्ने सहमित भएको जानकारी दिए ।

 

कार्यक्रममा चार्टर्ड एकाउण्टेण्ट निश्चल ढकालले कर र लेखा सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोखारा महिला चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष तथा पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, बैंकको गण्डकी प्रदेशका प्रमुख रविन्द्र केसी लगायतले वोलेका थिए ।