लेखनाथ सिटि हस्पिटल २४ सै घण्टा एम्बुलेन्स सेवा शुभारम्भ

 

पोखरा, भदौ ३० ।

पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटलले आईतवारदेखि लागू हुनेगरी २४ सै घण्टा एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । ङ्यो तमु धि लेखनाथको सहकार्यमा हस्पिटलले एम्बुलेन्स सेवा सुरु गरेको हो । शनिबार एक सम्झौताका विच हस्पिटलका कार्यकारी निर्देशक उदिप राज ढुङ्गाना र ङ्यो तमु धि लेखनाथका अध्यक्ष क्याप्टेन मन बहादुर गुरुङ्ले संयुक्त हस्ताक्षर गर्दै सो सेवाको शुभारम्भ गरेका हुन् ।

पोखरा र आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सहज सुबिधा प्रदान गर्नको लागि हस्पिटलले ङ्यो तमु धिको सहकार्यमा २४ सै घण्टा एम्बुलेन्स सेवा शुरु गरेको कार्यकारी निर्देशक ढुङ्गानाले बताएका छन् ।

सामाजिक कार्यमा अग्रसर ङ्यो तमु धि लेखनाथका अध्यक्ष गुरुङले लेखनाथ सिटि हस्पिटल संगको सहकार्यमा एम्बुलेन्स सेवा संचालन गर्न पाउँदा ज्यादै खुसी लागेको बताएका हुन् । यो सहकार्यले टाढाका बिरामीले समेत सहज उपचार गर्न सक्ने उनले बताए ।

ईमर्जेन्सी सहित २५ शैया संचालन गरेको हस्पिटलले नेपाल मेडिसिटी हस्पिटलसंगको सहकार्यमा हस्पिटल मै ओपिडी सेवा दिइरहेको छ । बिरामीको आवश्यकता अनुसार एयर एम्बुलेन्स समेत संचालनमा रहेको निर्देशक सुजन रानाभाटले जानकारी दिए ।

हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरु सहित संचालित रहेको छ ।