लायन्स शतवार्षिकमा राजेशदेखि रवीसम्म सम्मानीत

पोखरा, फागुन २७ ।
लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ को आयोजनामा सम्मानित व्यक्तित्वलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढुङ्गा महेन्द्रपुल हुदै प्रर्दशनी केन्द्र नयाँ बजारमा नागरिक अभिनन्दन गरिएको हो । विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ), प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँर, मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, लायन्सका विभिन्न व्यक्तित्वहरुले अभिनन्दन गरे ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रमा तीनवटै तहको निर्वाचन सम्पन्न भैसकेका कारण संविधान कार्यान्वयनले सुखद् पूर्णता पाउन लागेको बताए । देश राजनीतिक स्थिरता तर्फ उन्मुख बनेको बताउँदै उनले अब देश आर्थिक समृद्धिको मार्गमा जाने विश्वास व्यक्त गरे । आर्थिक समृद्धिको मार्गमा देश बढ्ने बताउँदै उनले प्रत्येक नेपालीको सामाजिक आर्थिक रुपान्तरण आवश्यक भएको उल्लेख गरे । लायन्सले मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताए ।
कार्यक्रममा उद्योगपति, साहित्यकार, समाजसेवी, कलाकार, खेलाडी, पत्रकार लगायतका समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १०० जना व्यक्तित्व छनौट गरी उनीहरूलाई लायन्स इन्टरनेशनल स्थापनाको १०० वर्ष पूरा भएका अवसरमा नागरिक अभिनन्दन एवम् रथारोहण गरिएको कार्यक्रम संयोजक एवम् लायन्स इन्टरनेशनल ३२५ बी १ का डिष्ट्रिक गभर्नर धनराज आचार्यले बताए । शतवार्षिक समारोहका अवसरमा विभिन्न १०० वटा विशेष कार्यक्रम सहित अघि बढीएको जानकारी दिदै अधिकांश कार्यक्रम सफल बनिसकेको उनले बताए । सम्मानीत हुनेमा शिक्षाविद् केदारभक्त माथेमा, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजेश हमाल, सिताराम कट्ट, योगी विकाशानन्द, पुतली बाजे, बैकुण्ठ मानन्धर, यादब खरेल लगायतलाई अभिनन्दन गरिएको थियो ।
सम्मान कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्यले समृद्ध नेपाल निर्माणका लागि दृढ इच्छाशक्ति भएका नेताहरूको आवश्यकता भएको धारणा राख्दै नेपालीहरूको समृद्धिको चाहनालाई पूरा गराउनुपर्नेमा जोड दिए । आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरु बिच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको डिष्ट्रिक गभर्नर आचार्यले बताए । ‘हाल संसारका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ ।’ नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याएको डिष्ट्रिक गभर्नर आचार्यले बताए ।