लायन्स क्लब अफ पोखरा गण्डकीद्वारा ३६ विद्यार्थीलाई छात्रवृत्ति

 

पोखरा, असोज ३ ।

विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक रुपमा विपन्न ३६ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, वातावरण र उद्यमशिलतामा विभिन्न कार्यक्रम गर्दै आएको क्लबले वार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

क्लबका अध्यक्ष हिरा भट्टराईले श्री सत्यसाइ केन्द्र, एसओएस, भद्रकाली, महेन्द्र मावि घार्मिका ३६ विद्यार्थीलाई करीब ३ लाख रुपैया छात्रवृत्ति प्रदान गरेको जानकारी दिइन् । शिक्षा सबैको लागि भन्ने सोचका साथ क्लबका सदस्य र अन्य केहि व्यक्तिबाट संकलित रकम विद्यार्थीलाई वितरण गरेको उनले बताइन् । “हामीले क्लबका सदस्य साथिहरु र केहि अन्य मनकारी व्यक्तिबाट सकंलित रकमलाई जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने हेतुले छात्रवृत्ति प्रदान गरेका हौँ, ” भट्टराइले भनिन् ।

लायन्स क्लब ३२५ वि १ का डिष्ट्रिक पूर्व गर्भनर ध्रुव थापाले महिला क्लबको सक्रियता सामाजिक क्षेत्रमा निकै उदाहरणीय रहेको बताए । सामाजिक मुल्य मान्यतालाई आत्मसात गर्दै मानवीयता प्रति लायन्स गण्डकी सधै अग्रस्थानमा रहेको उनले बताए ।

कार्यक्रम बोल्दै क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक शारदा पराजुलीले १२ वर्ष अघि एक जना विद्यार्थीबाट शुरु गरेको अभियान आज सम्म ३६ जनामा पुगेको बताए । सबैको साथ र सहयोग भयो भने जुन सुकै काम गर्न सकिने भन्दै सामाजिक उत्तरदायित्वको लागि हातेमालो जरुरी हुने उनको धारणा थियो ।

पढाऔँ अभियानका प्रमुख चण्डी अर्यालले लायन्सले शिक्षा कार्यक्रमलाई प्राथमिकता दिँदै विकट वस्तीहरुमा पढाऔं अभियान सञ्चालन गरेको बताइन् । गण्डकीका महिलाको सक्रियताले अरुलाई पनि प्रेरणा मिलेको भन्दै उनले जसले जे सकिन्छ त्यो गर्दै जानुपर्ने बताइन् ।

सो अवसरमा आफ्ना भनाई राख्दै संचारकर्मी नरमाया रसाइलीले बालबालिकाप्रति सकारात्मक धारणाको विकास गर्न स्कुलको पाठ्यक्रमबाटै सकारात्मक शिक्षामा जोड दिनुपर्ने बताइन् ।

शिक्षकको तर्फबाट बोल्दै एसओएस बालग्रामका सुमन वराल र छात्रा प्रिती भट्टराईले छात्रवृत्ति प्रदानले विद्यार्थीमा थप प्रेरणा मिलेको बताए ।

लायन्स क्लबका प्रेम बहादुर श्रेष्ठ, महिला क्लवका प्रथम उपाध्यक्ष ज्योति थापा, सचिव साधना चालिसे लगायतले क्लबले गरेका विविध गतिविधिको बारेमा जानकारी दिएका थिए ।