लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ

नुवाकोट, कार्तिक २५ ।
नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

थापाका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो । रु ३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले आइतबार टेकु प्रहरीको जिम्मामा काठमाडौ पठाएको छ ।

तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।