लाखको क्षति, हजारको राहत !

प्रकाश ढकाल
पोखरा, असार २६ ।
पोखरा २४ कास्कीकोटका प्रेमप्रसाद अधिकारीले तरकारी लगाएको दुईवटा टनेल असिनापानीले कामै नलाग्ने गरी छियाछिया बनाईदियो । टनेलभित्रको साग र टमाटर पनि पुरै नष्ट भयो । हेर्दाहेर्दै ४ लाख रुपैयाँभन्दा बढी क्षति भयो । उनलाई पोखरा महानगरले १० हजार रुपैयाँ राहत दियो । क्षतिका आधारमा राहत नपाएकै कारण किसानहरु मर्कामा परेको उनको गुनासो छ ।

पोखरा २२ पुम्दीभुम्दीका केशव पौडेलले १० रोपनी क्षेत्रफलमा काँक्रो र तरकारी खेती गरेका छन् । १६ हजार रुपैयाँको विमा गर्न उनले ६ सय रुपैयाँ मुक्तिनाथ इन्स्योरेन्समा बुझाए । असिपानीले उनको खेती असिनापानीले खाईदियो । उनले विमा कम्पनीलाई जानकारी गराए । कम्पनीका मान्छे गएर मूल्यांकन गरेर २ हजार २ सय रुपैयाँ दिने तयारी ग¥यो । उनले त्यो विमा रकम लिएनन् । किसानहरुलाई कृषि पेशाप्रति आकर्षण गराउने कार्यक्रम विमा कम्पनीले गर्न नसकेको उनले सुनाए । उनलाई पनि महानगरले बुधबार राहत दियो, तर अति न्यून ।

बुधबार महानगरले १ सय ८० किसानहरुलाई १० लाख रुपैयाँ राहत दियो । ‘यो बर्ष ५० करोडको नोक्सानी भएको हाम्रो मुल्यांकन छ । तर सबैले राहतका लागि आवेदन दिएनन्,’ महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया भन्छन्, ‘सहकारी, समूह र ब्यक्तिगत गरी १ सय ८० जनालाई यसपाली राहत दियौं । उनीहरुको ६ करोडभन्दा बढी क्षति छ ।’ क्षतिका आधारमा अहिले क्षति दिन सक्ने अवस्था नरहेको उनले बताए । राहत भन्दा त्यो रकमलाई विमाको प्रिमियम तिर्न सहयोग गरे किसानलाई बढी फाईदा हुने कडरिया बताउँछन् ।

विमालाई विपदको विकल्पको रुपमा विकास गर्नुपर्ने महानगरका मेयर मानबहादुर जिसीको भनाई छ । ‘किसानमैत्री विमा बनाउन महानगर लागिरहेको छ । तर विमा कम्पनीहरु जिम्मेवार छैनन् । गाडी एक्सिडेण्ट हुन्छ, कम्पनीमै लेनदेनको कुरा चल्छ,’ उनले भने, ‘राहत लिन जाँदा उल्टै कमिसन तिर्नुपर्छ । किसान विमा कम्पनीसँग निराश छन् ।’

उनले अर्गानिक उत्पादन र कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । ‘किसानहरु पनि ब्यवसायिक हुनुपर्छ । नेपालमै कृषिका लागि पोखरा राम्रो ठाउँ हो । यो ठाउँमा पनि बाहिरको खाद्यान्न र तरकारी आयात गर्दा अरुले के गर्ने ?,’ उनले भने, ‘हामी आँफै उत्पादन गरौं । पोखरामै बेचौं । अरवौंको कृषि उपज बाहिरबाट आउँछ भने त्यो रकम हामी नै कमाउँ न ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल पनि अनुदानले मात्रै कृषि राम्रो नहुने बताउँछन् । ‘सरकारले बर्षेनी अनुदान दिईरहेको छ । तर कहाँ लगानी भयो ? खै देखिने काम ?,’ उनी भन्छन्, ‘बर्षेनी अनुदान बढेको बढ्यै छ । खेती चाहीँ बढेको छैन ।’ उनले पनि विमामा कृषिलाई जोड्नुपर्ने बताए ।

क्षतिअनुसार विमाको रकम नपाएपछि कास्कीका किसानहरु चाहीँ विमाकम्पनीसँग आकर्षित छैनन् । ‘बाँदरले गरेको क्षतिको विमा माग्यो, हुँदैन भन्छ । असिना आउने बेलामा विमा गर्न खोज्यो मान्दैन । विमा के का लागि गर्ने त ?,’ उनीहरु भन्छन्, ‘न विमा गरेको रकम फिर्ता हुन्छ । न किसानले राहत पाउँछन् । विमा कम्पनी मोटाउने बाटो मात्रै हो । किसानलाई केही फाईदा छैन ।’

पोखरामा कृषि विमाको मुख्य जिम्मेवारी पाएको सिद्धार्थ इन्स्योरेन्सका नवराज पौडेल चाहीँ किसानले भनेजस्तो झण्झटिलो र कम मुल्यांकन नगरिएको दावी गर्छन् । ‘पोखरामा ब्यावसायिक खेती हुनै सकेको छैन । कामचलाउ मात्रै भैरहेको छ,’ उनले भने, ‘सरकारले दिएको अनुदानका भरमा मात्रै बिमा गरेर काम छैन । किसानहरुको विमामा निरन्तरता छैन । खेती पनि निरन्तर छैन ।’ यद्यपी पछिल्लो समय विस्तारै ब्यावसायिक खेती गर्ने किसानहरु बढिरहेका छन् ।