लाइसेन्स बनाइदिने भन्दै ७० हजार घुस लिने ट्राफिक प्रहरी अख्तियारको फन्दामा

लमजुङ, चैत १४ ।
सवारीचालक इजाजत पत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा लमजुङमा एक प्रहरी जवान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । मंगलबार साँझ बेसीशहर नगरपालिका –७ मा रहेको वाणिज्य बैंकनजिकैको सोनी रेस्टुरेन्टमा नगद ७० हजार रुपैयाँ लिँदै गर्दा ट्राफिक जवान मोतिकुमार श्रेष्ठलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।
गाडीको लाइसेन्स बनाइदिने भन्दै २ जना सेवाग्राहीसँग ३५–३५ हजारका दरले रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट खटीआएका डीएसपी महेन्द्र खड्काले बताए । उनले भने, ‘पक्राउ गरिएका ट्राफिक जवान श्रेष्ठमाथि थप अनुसन्धान गरिनेछ ।’ घुस लिँदै गर्दा ट्राफिक प्रहरी जवान श्रेष्ठ बर्दीमै थिए । वीरगञ्जबाट ठूलो गाडीको लाइसेन्स बनाइदिने भन्दै श्रेष्ठले घुस लिएको स्रोतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले ट्राफिक जवान श्रेष्ठले वीरगञ्चबाट हेभी गाडीको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीलाई आश्वासन दिएको पाइएको बताए ।