ललिता निवासको जग्गा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु, पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन

 

काठमाडौं, माघ २३ ।

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न नेता तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणमा संलग्न १ सय ७५ जनामाथि हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै विभागले पनि अनुसन्धान अघि बढाएको हो ।

विभागले आजैदेखि प्रकरणमा मुख्य भूमिका खेल्नेविरुद्ध छानविन अघि बढाएको हो । ईमेज समाचारसँग कुरा गर्दै विभागमा महानिर्देशक रूपनारायण भट्टराईले कर्मचारीबाहेक पूर्वमन्त्री र व्यापारीहरुको सम्पत्ति छानबिन सुरु गरेको जानकारी दिए ।

विभागले यसअघिदेखि नै पूर्वसचिव तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात्को सम्पत्ति छानविन गरिरहेको थियो ।

अख्तियारले ललितानिवासको जग्गा प्रकारणको मात्रै छानबिन गरेर उनीहरूविरुद्ध मुद्दा दर्ता गरे पनि विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउनेछ ।
(ईमेजखबरबाट साभार)