लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकियो

 

म्याग्दी, भदौ ३० ।

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकिएको छ ।

बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको छ ।

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाट लभ्ली हिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्य रहेको छ ।

पर्यटन विकासका लागि लभ्लीहिलसम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको गत २०७५ भदौ ८ गते शिलान्यास गरिएको थियो ।

बेनी–बगरफाँट सडक नजिकबाट सुरू गरिएको पदमार्गको ढलानसहित आवश्यक संरचना बनाइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

पदमार्गको प्रारम्भीक चरणमा ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएपनि ७९ लाखमा पदमार्ग निर्माण भएको बताइएको छ ।

पर्यटक बढेसँगै म्याग्दीमा होटलहरु पनि खुल्न थालेका छन् । युवाहरु होटल व्यवसायमा संलग्न हुन थालेका छन् । (ईमेजखबरबाट साभार)