रोटरी सम्मेलन शुरु

 

पोखरा, माघ २५ ।

रोटरी सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु भएको छ । रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलन पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको हो । सम्मेलनको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गरे ।

रोटरी सम्मेलनको उद्घाटन गर्दै रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले रोटरीको कोषमा योगदान दिन नेपाली रोटरियनहरुलाई अपिल गरे । तपाईंहरुले जति धेरै कोषमा योगदान गर्नुहुन्छ, नेपालमा त्यति धेरै फण्ड आउँछ, ‘उनले भने, ‘त्यसैले तपाईंहरुले जतिसक्दो धेरै फण्डिङमा कन्ट्रिब्यूट गर्नुस् ।’ नेपाली रोटरीयनले जति फण्डिङ गर्छन् त्यति नै फण्ड नेपाल आउने र सामाजिक र मानवीय सेवामा खर्चिने उनले स्पष्ट पारे । आफ्नो फजुल खर्च कटाएर फण्डिङमा योगदान दिन उनको आग्रह थियो ।

रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट मेहताले रोटरी संसारको सबैभन्दा उत्कृष्ट सामाजिक सेवा र मानवीय सेवा गर्ने संस्था भएको दाबी गरे । सक्नेले सकेजति योगदान दिने हो भने रोटरीकै माध्यमबाट पृथ्वीलाई स्वर्ग बनाउन सकिने उनको भनाई थियो ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले रोटरीको कोषमा योगदान बढाउन आफूहरु दत्तचित्त भएर लागिरहेको बताए । सामाजिक सेवाका लागि हामी रातदिन खटिरहेका छौं, ‘उनले भने, ‘हामी अझै रोटरीको कोषमा योगदान बढाउन चाहन्छौं र बढी भन्दा बढी सामाजिक र मानवीय सेवामा लाग्न चाहन्छौं ।’

रोटरी सम्मेलनका कन्फिरेन्स चेयर गोपाल धोजुले रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट सम्मेलन पोखरामा गर्न पाउनु गौरवको कुरा भएको बताए । यसले गर्दा पोखरासहित समग्र नेपालकै पर्यटनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा करीब २ हजार रोटरीयनहरु सहभागि भएको आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु सम्मेलनमा सहभागि हुन आएको सचिव डिल्लीप्रसाद शर्माले बताए । सम्मेलनमा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि सहभागि भएको उनले बताए । सम्मेलनमा सहभागिहरुलाई गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुले संयुक्त आतिथ्यता प्रदान गरेका छन् ।

सम्मेलनको पहिलो दिन समुद्घाटन र रोटरीले गरेका कामहरुको बारेमा छलफल भएको छ । दोश्रो दिन रोटरीले शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, शान्ति स्थापनालगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा समीक्षा गर्नुका साथै रोटरीले गर्ने आगामी कामका योजना तयार पारिने जनाइएको छ । सम्मेलनको दोश्रो दिन पोलियो ¥याली निकालिने जनाइएको छ । पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनबाट विहान ७ बजे शुरु हुने ¥याली महेन्द्रपुल, नयाबजारहुँदै सम्मेलन स्थल प्रदर्शनी केन्द्रसम्म पुगेर समापन हुने कन्फिरेन्स चेयर गोपाल धोजुले जानकारी दिए । उनका अनुसार सम्मेलनको अन्तिम दिन घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।

माघ २६ गतेसम्म चल्ने सम्मेलनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् । अन्त्यमा फेलोसीपपनि हुने उनले बताए । कन्भेन्सनले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने उनले बताए ।