रोटरी सम्मेलनको तयारी पूरा
पोखरा, माघ २३ ।
पोखरामा शुक्रबारदेखि शुरु हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको तयारी पूरा भएको छ । पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलनको तयारी पूरा भएको आयोजक रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले जनाएको हो ।
सम्मेलनको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गर्ने कार्यक्रम तय भएको रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा रोटरी इन्टरनेसनलका प्रतिनिधि एन् विसेट एस्वोल, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले सम्बोधन गर्नेछन् ।
सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ । रोटरी सम्मेलनका कार्यक्रम संयोजक गोपाल धोजुले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । कार्यक्रम स्थलमा कन्फिरेन्स हल, स्टेज निर्माणदेखि अतिथि र रोटरीयन सबैलाई न्यानो आतिथ्यताको तयारी गरिएको उनले बताए । हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं,‘अब आएका पाहुनालाई स्वागत गर्ने र शुक्रबार उद्घाटन गर्नमात्र बाँकी छ ।’
सम्मेलनमा करीब २५ सय रोटरीयनहरु सहभागि हुने आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु सम्मेलनमा सहभागि हुन आउने सचिव डिल्लीप्रसाद शर्माले बताए । सम्मेलनका प्रमुख अतिथि रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहता शुक्रबार काठमाडौं हुँदै पोखरा आउनुहुन्छ, अन्य अतिथिहरु पनि शुक्रबारै हवाईमार्गबाट आउनुहुन्छ, ‘उनले भने, ‘सम्मेलनमा सहभागि हुन रोटरीयनहरु भने आउन शुरु गर्नु भएको छ, विहीबार बेलुकासम्ममा १ हजार भन्दा बढी आइपुग्नु हुँदैछ, बाँकी शुक्रबार आइपुग्नुहुन्छ ।’ सम्मेलनमा रोटरियन बाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरु पनि सहभागि हुने उनले बताए । सम्मेलनमा सहभागिहरुलाई गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुले संयुक्त आतिथ्यता प्रदान गर्ने जनाइएको छ ।
सम्मेलनका लागि पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा टेन्ट हालेर ३ हजार मानिस अटाउने क्षमताको कन्फिरेन्स हल बनाइएको छ । कार्यक्रम हुने स्थानमा डोममा भने देशका सबै रोटरी क्लवहरुले गरेका कामहरुको प्रदर्शनी गर्ने ब्यबस्था मिलाइएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । अतिथिलाई स्वागतका लागि तनहुँको दमौलीदेखि कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र स्थलसम्म कार्यक्रम स्थलको ढोकामा मूल स्वागत द्वार निर्माण गरिएको छ भने अतिथिलाई स्वागत गर्न नयाबजारबाट प्रदर्शनी केन्द्र जाने बाटोसम्म १० वटा स्वागत द्वार निर्माण गरिएको छ ।
कार्यक्रम स्थलमा सुरक्षा ब्यबस्था चुस्त बनाइएको छ । कार्यक्रम स्थल सुरक्षित बनाउन १२ वटा सिसी क्यामरासमेत जडान गरिएको उनले बताए । कार्यक्रम स्थल प्रदर्शनी केन्द्रमा पोखराका सम्पदा झल्कनेगरी हिमाल र ताल बनाइएको छ भने गण्डकी प्रदेशमा प्रचलनमा रहेको ‘घुमाउने घर’ निर्माण गरिएको छ । जसले आएका अतिथि र रोटरीयनहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
सम्मेलनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् । अन्त्यमा फेलोसीप पनि हुने उनले बताए । कन्भेन्सनले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने उनले बताए ।
यसैबीच, रोटरी सम्मेलनको पूर्व सन्ध्यामा कार ¥याली निकालिएको छ । सम्मेलनको प्रचारप्रसार गर्ने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले काठमाडौंदेखि पोखरासम्म कार ¥याली निकालिएको कार ¥याली संयोजक दीवाकरराज कर्णिकारले जानकारी दिए । ¥यालीमा ४५ वटा गाडीमा ११५ भन्दा बढी रोटरीयनहरु सहभागि भएको उनले बताए ।
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानवीय र सामाजिक सेवा गरौं भन्ने उद्धेश्यका साथ रोटरी क्लव १९०५ फेव्रअरी २३ मा स्थापना भएको डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।