रेडियो अन्नपूर्णबाट दीपेन्द्र श्रेष्ठ सहित ५ जनाको सामुहिक राजीनामा

पोखरा, भदौ ३ ।
पोखराको रेडियो अन्नपूर्णका सिईओ दीपेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् । लामो समय प्रमुख कार्यकारी प्रमुखको रुपमा रहेर काम गरेका उनले कोरोना भाइरसको प्रभावले रेडियो सञ्चालनमा सकस परेको भन्दै राजीनामा दिएका हुन् ।

उनीसँगै रेडियोमा रहेका विभिन्न विभागका प्रमुखहरुले पनि सामुहिक राजीनामा दिएका छन् । मार्केटिङ प्रमुख भोला श्रेष्ठ, लेखाप्रमुख अगन्धर सुवेदी, टेक्निसियन प्रमुख रवीभुषण पराजुली र समाचार संयोजक आरजु विष्ट सल्यानीले राजीनामा दिएका श्रोतले बतायो ।

लामो समय लकडाउन र अहिले पनि कोरोना नियन्त्रणमा नआएका कारण रेडियोको आर्थिक अवस्था कमजोर भएकोले पछिल्लो केहि महिनादेखि कर्मचारीले आधा तलवमा काम गर्दै आएका थिए । राजीनामा बुझाएकाहरुले स्वेच्छिक रुपमा राजीनामा दिएको बताएका छन् ।

‘अरु साथीहरुको स्थान र तलव सुरक्षित गरेर नै राजीनामा दिएको हो,’ एकले भने, ‘अफिसलाई पनि समस्या परेको छ । हामीले त्यसलाई बुझेर सहज रुपमा छोडिदिएका हौं ।’ ब्यवस्थापन पक्षले निकास खोजेपछि विभाग प्रमुखहरुले राजीनामा दिएको बताईएको छ ।

‘बैठकमा म्यानेजमेण्टले निकास देउ भने । हामीले निकास भनेको राजीनामा हो भनेर सोध्यौं,’ अर्का एकले भने, ‘हो भनेपछि सामुहिक रुपमा राजीनामा दियौं ।’ सिईओ श्रेष्ठले मंगलबारको कार्यक्रममै अन्तिम कार्यक्रम भनेर विदा मागेका थिए ।

पोखराका मिडियाहरुमा पछिल्लो समय ब्यवस्थापन पक्षले विभिन्न रुपबाट राजीनामा वा बेतलवी विदामा बस्न बाध्य बनाएका छन् । सबैजसो मिडियाले आफ्ना कर्मचारीहरुलाई तलव दिन सकेका छैनन् । अधिकांशको फागुन देखि नै तलव भुक्तानी बाँकी रहेको छ । केहीले भने दिईरहेका छन् ।