रुपा गाउँपालिकामा हलगोरुलाई हलो

पोखरा, असोज ९ ।
कास्कीको रुपा गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई हलो वितरण गर्ने भएको छ । आईतबार भएको पशु सेवा तर्फको कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले हलो वितरणका लागि गाउँपालिकाले चालू बर्षमा १ लाख ५० हजार विनियोजन गरेको जानकारी दिए । ‘गाउँमा खेती किसानी गर्ने किसान कम हुँदै गएका छन् । कृषियोग्य भूमी दिनहुँ बाँझिएका छन्, उनले भने–किसानलाई प्रोत्साहन गर्न गाउँपालिका निरन्तर लाग्नेछ ।’ गाउँपालिकाले चालू बर्षका लागि पशु सेवा विकासका शिर्षकमा ३४ लाख ९२ हजार रुपैयाँको कार्यक्रम तयार गरेको छ ।
जसमा आयआर्जन कार्यक्रम कार्यक्रम तर्फ बंगुर र बाख्रा पालन गर्न ११ लाख ६४ हजार, औषधी र भ्याक्सीन खरिदका लागि ३ लाख, नश्ल सुधारतर्फ ५ लाख, खोरगोठ सुधार कार्यक्रममा ३ लाख, डेरी स्थापनाका लागि ४ लाख र तालिम केन्द्र निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पशु विकास अधिकृत महेश्वर ढकालले गाउँपालिकाका पशु विकास नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।