राहदानी दुरुपयोग गरेका माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज

काठमाडौं, मंसिर ११ ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द भएको छ । उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो ।
सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले निर्वाचन आयोगमै गत कात्तिक १९ गते उजुरी दिएका थिए । सुनुवाइ नभएपछि उनीहरु सर्वोच्चसम्म पुगेका थिए । तर सर्वोच्चलाई आयोगले जवाफ पठाउनुअघि नै उनको उम्मेदवारी खारेज भयो ।
राय पहिलो संविधानसभाका सदस्य थिए । कूटनीतिक राहदानी दुरुपयोग गर्दै आएका उनलाई विशेष अदालतले कारबाही समेत गरेको थियो । सर्लाही–४ मा उनको विरुद्धमा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्रले उम्मेदवारी दिएका छन् ।