राहत लिएर मजदुरका घरमा सांसद थापा

पोखरा, बैशाख १ ।
कोरोनाको संकटपछि सरकारले घोषणा गरेको लकडाउने मजदुरी गर्न नपाएकाहरुलाई सांसद विन्दुकुमार थापाले राहत सहयोग गरेका छन् ।

सरकारको राहतमा नसमेटिएका वडा नम्बर ९ का विपन्न २ सय परिवारलाई थापाले राहत प्रदान गरेका हुन् । कठिन परिस्थितिमा दुखका साथ दैनिकी गुजारिरहेका परिवारलाई सहयोग गरेकोे उनले सुनाए । थापाले सोमबार मात्रै ४ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

पोखरा महानगरपालिकाले ३३ वटै वडामा १९ हजार ४ सय ४० परिवारलाई राहत वितरण गरेको छ । यद्यपी अझै केही विपन्न परिवारहरु राहत पाउनबाट वञ्चित भएको समाचार आईरहेका छन् ।

‘दिनभरी काम गरेर विहान बेलुकी हातमुख जोर्नुपर्नेलाई सहयोग गरेको हुँ,’ उनले भने, ‘अरु वडाबाट पनि माग भैरहेको छ । नाम संकलन गर्दै छु । आवश्यक्ताका आधारमा सहयोग गर्छु ।’

पक्ष र प्रतिपक्ष नभनि संकटको घडीमा सबै एकजुट हुनुपर्ने भन्दै उनले सरकारले कुनै पनि काममा प्रतिपक्षीसँग समन्वय नगरेको बताए । यसपछि उनले ११, १५, ३३ र १६ नम्बर वडाबाट पनि माग भएकोले राहत वितरणको तयारी गरिरहेको बताए । त्यसबाहेक आवश्यक्ता अनुसार अन्य वडामा पनि सहयोग गर्ने थापाको भनाई छ ।

उनले प्रत्येक परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ किलो चिउरा, १ किलो चिनी, १ लिटर तेल, ३ वटा साबुन र चियापत्ति सहयोग गरेका छन् ।

वडाध्यक्ष रामराज लामिछानेले सरकारले दिएको राहतले सबैको आवश्यक्ता पूरा गर्न नसकेपछि वडाकै आग्रहमा थापाले सहयोग गरेका जानकारी दिए ।

थापाले केही दिनअघि ३ सेट पीपीइ पनि सहयाेग गरेका छन् । शहरी स्वास्थ्य केन्द्रलाइ उनले पीपीइ सहयाेग गरेका हुन् ।