राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने

 

काठमाडौं, पुस १९ ।

राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ ।

काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो ।

आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गर्नेछन् ।

घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा राखिएको उनले बताए । पुरुषतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला सहभागी सबैलाई जनही रु पाँच हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिता आयोजनाका लागि सङ्घका अध्यक्ष कर्णिकार, टिभीएसका ब्यापार तथा बिक्री वितरण महाप्रबन्धक दीपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोटर्सका प्रतिनिधि निभा सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अध्यक्ष कर्णिकारले प्रतियोगितामा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले अबका दिनमा जनस्तरमा लगिने बताए ।
(ईमेजखबरबाट साभार)