राष्ट्रपति भण्डारी म्यानमारबाट जापान जाने

 

काठमाडौं, कात्तिक १ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मंगलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनेछिन् ।

उक्त समारोहपछि उनी सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछिन् ।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिनेछिन् ।

यसैगरी, उनले जापानस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिनेछिन् ।

भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन् ।

राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ । (रासस)