राष्ट्रपतिले गरिन् बालकृष्ण ढुंगेलसहित ८१६ कैदीको सजायँ माफी

काठमाडौं, जेठ १५ ।
जेल सजाएँ भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा भएको छ । द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका ढुंगेललाई ४० प्रतिशत कैद भुक्तान गरेको आधारमा माफी दिईएको हो । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहित ४० जनालाई माफी दिएकी हुन् ।

मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिए । कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

आइतवार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमवारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन पुरानै हो । यसअघि राजतन्त्रको पालामा पनि यो प्रचलन थियो ।