राष्ट्रपतिद्वारा संघीय संसदको हिउँदे अधिवेशन आह्वान

 

काठमाडौं, मंसिर २४ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते संघीय संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

हाल प्रतिनिधिसभा सभामुखविहीन अवस्थामा रहेकाले उपसभामुख शिवमाया तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्नेछिन् ।

संसदको बजेट अधिवेशन सकिएलगत्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै महिला कर्मचारीमाथि जबर्जस्ती करणीको अभियोगमा मुछिएपछि राजीनामा दिएका थिए ।

सभामुख रिक्त रहेकाले प्रतिनिधिसभा हिउँदे अधिवेशनको पहिलो काम सभामुख चयन हुनेछ ।

संसद बैठक सन्चालन भएपछि नयाँ सभामुख चयन प्रक्रियाको बाटो खुल्नेछ ।
(ईमेजखबरबाट साभार)