राजिनामा नदिने शिवमायाको अडान कायमै, कुन विकल्पमा जाला नेकपा ?

 

काठमाडौं, पुस २७ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले राजिनामा नदिने अडान फेरि दोहोर्याएकी छिन् ।

राजिनामा दिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल उवं नेकपा पार्टीले नै गरेको आग्रहलाई उनले अस्वीकार गरिदिएकी हुन् ।

राजिनामाका लागि पार्टी हाइकमाण्ड सचिवालय बैठकले गरेको आग्रह नमानेपछि आइतबार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमै बोलाएर राजिनामा गर्न भनेका थिए ।

तर तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउने निर्णय नगर्दासम्म राजिनामा नदिने अडान राखेको उनीनिकट स्रोतले जनाएको छ । राजिनामा नदिने भन्दै बालुवाटारबाट निस्केकी उनले के गर्न उपयुक्त हुन्छ त्यही गर्नु भनेको स्रोतको दावी छ ।

आफूलाई राजिनामा गराउन लगाउने निर्णय कस्ले गरेको भन्ने प्रश्न नेताहरुलाई गरेकी उनले यसअघि आफूलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्ने चेतावनी नै दिएकी थिइन् ।

छलफलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल संलग्न थिए । उपसभामुख तुम्बाहाम्फेको अडानले नेकपा अनिर्णयको बन्दी जस्तो देखिएको छ ।

उपसभामुख तुम्बाहाम्फेको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको समाचार सार्वजनिक भइरहेका बेला उनको यो अडानले अब कुन बाटो लिने भन्ने दुबिधामा नेकपाका नेताहरु परेका छन् ।

आफूलाई सभामुख बनाउने निश्चित नहुँदासम्म तुम्बाहाम्फेले राजीनामा नदिएमा नेकपाका अघिल्तिर उनको माग बमोजिम सभामुख स्वीकार्ने, सभामुख नै अर्को पार्टीलाई छाड्ने र निर्णय अवज्ञाको कार्वाहीका लागि कुनै बहानामा उनीमाथि संसदमा महाभियोग लैजाने तीन विकल्प मात्र रहेको एक नेताले बताए ।
(ईमेजखबरबाट साभार)