राजा छान्न लिगलिगे दौड

पोखरा, असोज ७ ।
लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक लिगलिग विकास अभियानले जनाएको छ । ४ सय ६० बर्ष पूरानो इतिहासलाई सम्झेर त्यसलाई जीवित राख्नका लागि प्रतियोगिता सुरु गरिएको आयोजक संस्थाका सदस्य पूर्णचन्द्र देवकोटाले बताए ।
‘गोरखाको ऐतिहासिक अस्थित्व छ । अझै बढी लिगलिगकोट सँग यसको साईनो गाँसिएको छ, प्रतियोगिताका अभियान्ता गोरखा मिलन समाज पोखराका निवर्तमान अध्यक्ष सूर्य क्षत्रीले भने–यो कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउने हाम्रो विश्वास छ ।’ दौडमा पहिलो हुनेले ५० हजार ५ सय ५ रुपैयाँको साथमा श्रीपेच, पगरी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रो हुनेले ३० हजार ३ सय पाँच रुपैयाँ र तेस्रोले २० हजार २ सय पाँच रुपैयाँ पाउनेछन् । यसबर्ष चौंथो हुनेलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । चौंथो हुने प्रतियोगिले १० हजार १ सय पाँच रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै पाँचौंका लागि ५ हजार पाँच, छैठौंले ४ हजार पाँच, सातौंले ३ हजार पाँच तथा आठौं हुनेले २ हजार पाँच रुपैयाँ सहित प्रमाणपत्र पाउनेछन् । महिलातर्फको पहिलो हुने प्रतियोगिले १५ हजार पाँच, दोश्रोले १० हजार पाँच र तेश्रोले ५ हजार पाँच रुपैयाँ पुरस्कार पाउँछन् । केही बर्षअघिदेखि सुरु भएको स्थानीय तर्फको प्रतियोगितामा पनि पहिलो, दोश्रो र तेश्रो हुने प्रतियोगि पुरस्कृत हुनेछन् । लिगलिग वासीको प्रतियोगितामा पहिलो हुने १५ हजार पाँच, दौश्रो हुनेले १० हजार पाँच र तेश्रो हुने प्रतियोगिले ५ हजार पाँच सहित मेडल, प्रमाणपत्र र ट्रफी पुरस्कार पाउनेछन् । यो पुरस्कार गोरखा मिलन समाज पोखराले प्रायोजन गर्दै आएको छ । यसबर्ष पनि गोरखा मिलन समाज पोखराले नै पुरस्कार प्रायोजन गर्ने समाजका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
१६०४ सालको विजयादशमीका दिन पहिलोपटक १९ वर्षका दलसुर घले मगरले लिगलिगे दौड प्रतियोगिता जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक वर्षका लागि राजा बन्ने परम्परा बसेको थियो । मगर १६१५ सम्म लगातार दौड जितेर राजा बनेको इतिहास छ । १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाह वंशको उदय भएको थियो । त्यसपछि यो परम्परा रोकिएको थियो । २०६७ सालदेखि सुरु भएको प्रतियोगितामा इलामका भुमिराज राई, धदिङका हरिप्रसाद रिमाल, रामेछापका समिर तामाङ, रामेछापकै कृष्ण बहादुर बस्नेत, पर्वतका अनिष थापामगर, धादिङका हरिप्रसाद रिमाल (दोश्रोपटक), र पर्वतका अनिष थापामगर (दोश्रोपटक) ले प्रतियोगिता जितेका छन् । प्रतियोगितामा पहिलो हुने प्रतियोगि एक दिनका लागि लिगलिगको राजा घोषित हुनेछन् ।