राजश्व छली गरी ल्याएका ३० थान मोबाइल बरामद

 

बनेपा, माघ १ ।

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बुधबार पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गरेका हुन् ।

उनका अनुसार बनेपा नगरपालिका– ८ बसपार्कमा रहेको पसल दर्ता नै नगरी सुनिल खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नं ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआइजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो ।

बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार १७ हजार छ सय रुपैयाँ देखि एक लाख ६० हजार रुपैयाँसम्मका छन् ।

बरामद गरिएका १० लाख १७ हजार पाँच सय रुपैयाँ बराबरका मोबाइल राजश्व कार्यालय हरिहरभवन पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ ।

पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौंबाट ल्याई बेच्ने गरेका पाइएको प्रहरीको भनाइ छ । ती पसल सञ्चालकलाई राजश्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । (रासस)