राईनासकोट होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित, होमस्टे बुधबार काठमान्डौंमा पुरस्कृत हुँदै

 

पोखरा, साउन १४ ।

लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट गाउँ घोषित भएको छ ।

स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको उक्त गाउँ यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँ घोषित भएको हो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) नेपालद्धारा घोषित वर्ष गन्तब्यमा परिसकेको राईनास यो बर्ष उत्कृष्ट पर्यटकिय गाउँ घोषित भएको हो । अमेरीकी नागरीक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो ।

उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन । वर्षेनी राईनास जाने पर्यटकहरुको संख्या बृद्धि हुदै गएको छ । बर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राईनासमा आक्रसित भएको बताइएको छ ।

त्यहाँको अतिथि सत्कार तथा होमस्टे वरिपरिको वातावरण, साँस्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिए ।

राईनासकोटको बारेमा पत्रकार विक्रम न्यौपानेले निर्माण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिधामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको बताइएको छ । राईनासकोटबाट लमजुङ्ग, गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ ।

यो बिधामा यस अघि लमजुङ्गकै काउलेपानि होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन् । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताएका छन् ।

प्रचार प्रसारमा स्थान पाईरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघिय सरकारले पनि यो बर्ष करिव १ करोड बजेट बिनियोजन गरेको छ । शाहा वंशिय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोटलाई चिनिन्छ ।

काठमान्डौंमा हुने एक विषेश समारोहकाबीच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरिने भिटोफ नेपालका केन्द्रीय अध्यक्ष धु्रब सिंखडाले जानकारी दिए ।