रवीन्द्र अधिकारीले एनसेल काण्डमा घुस खाएका खड्काको आरोप

पोखरा, कार्तिक २२ ।
नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले एमालेबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका रवीन्द्र अधिकारीलाई भ्रष्टाचारको बाटोमा हिँडेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कास्की क्षेत्र नम्बर २ का जनताले भ्रष्टारको बाटोमा हिँडिरहेको नेतालाई भोट गर्न नहुने बताए । ‘जनताले यो बुझ्न जरुरी छ कि नेताले जितेर विकासका लागि केहि गर्छन् या त्यो भोटलाई कमाईखाने लाइसेन्स बनाउँछन् ?’ उनले भने–‘त्यसैले कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरा खुट्याउन आवश्यक छ ।’
केहि समय अगाडि मात्रै अखण्ड नेपाल पार्टीलाई काँग्रेसमा समाहित गराएका खड्काले रविन्द्रले भ्रष्टाचार गरेको प्रमाण आँफुसँग भएको जिकीर गरे । ‘टेलियासोनेरा र एक्जियाटाको काण्डको क्रममा नेपाल सरकारलाई तिर्न देखिएको करको विषयमा रविन्द्रले संसदमा निकै विवादास्पद बोली बोलेका छन् । उनले एनसेलको कर मिनाहा हुनुपर्ने अभिव्यक्ति दिएका छन् ।’ खड्काले भने–‘यो अभिव्यक्तिले रविन्द्र पनि कमिशनको खेलमा परेको स्वभाविक रुपमा बुझ्न सकिन्छ ।’
खड्काले मतदानका बेला जनताले असल र खराव छुट्याउने भन्दै काँग्रेसलाई मतदान गर्न आग्रह गरे । ‘केहि समय अगाडि माओबादीले अन्तराष्ट्रिय विमानस्थल काण्डमा ५० लाख खाएको भन्दै कोकोहोलो मच्चाउने एमालेहरुले अहिले अझै तिनै कमिशनखोरीलाई काँधमा हालेर हिँडेका छन् ।’ उनले भने–‘अझ तिनैले लाज पचाएर जनताको पक्षमा काम गर्छौँ भन्दै भोट मागेर हिँड्छन् ।’