रवीन्द्र अधिकारीलाई राजतन्त्रकै ‘भूत’

पोखरा, कार्तिक २१
एमालेका नेता रवीन्द्र अधिकारीले वाम गठबन्धनले हारे राजतन्त्र फर्कने चेतावनी दिएका छन् । सहिष्णु नेताको छवि बनाएका अधिकारीले सोमबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनले हारे संवैधानिक राजतन्त्र फर्कने खतरा भएको दावी गरे ।
‘वाम गठबन्धनले हारे यहाँ धार्मिक शासन फर्कने खतरा छ, अर्थात प्रतिगमन फर्कने खतरा छ’, उनले भने, ‘त्यसैले वाम गठबन्धनले जित्नै पर्छ ।’ उनले मानवअधिकारलाई पनि वाम गठबन्धनको भाषामा व्याख्या गर्न भ्याए ।
काँग्रेसले भनेको मानव अधिकारमा गरिबले खान नपाउने भन्दै उनले थपे, ‘कम्युनिष्टले भनेको मानव अधिकारमा समान तरिकाले खाने, बस्ने, हिँडडुल गर्ने अधिकार हुन्छ ।’
कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका अधिकारीे विद्यार्थी राजनीतिपछि नेपाली काँग्रेसप्रति असहिष्णु बनेको संभवत् यो पहिलो पटक हो । वाम गठबन्धनको औचित्यको बचाउ गर्दै उनले आर्थिक सम्वृद्धि र रोजगारी वृद्धि आफ्नो उदेश्य भएको जिकिर पनि गरे ।
सोही सभामा बोल्दै कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार राजकाजी गुरुङ कम्युनिष्टले समाजवाद भनेको समानता, विभेदको अन्त्य र सम्वृद्धि प्राप्तिको लागि भएको दावी गर्दै निजी सम्पत्ति खोस्नको लागि नभएको बताए ।
कांग्रेसले समाजवाद र साम्यवादलाई भ्रष्टीकरण गरेर बदनाम गर्न खोजेको उनको आरोप थियो । कास्की २ को प्रदेश नम्बर १ का उम्मेवार कृष्ण थापाले काँग्रेसले लोकतन्त्रलाई पैसामा बिक्री गरिरहेको आरोप लगाए ।
वाम गठबन्धनका तर्फबाट समानुपातिक उम्मेद्वार तथा नेकपा एमालेका निर्वाचन कमिटीका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ ले अहिले जनवादको कुरा गर्ने समय नभएकाले केन्द्रीयता लागू गर्न कार्यकर्तालाई निर्देशन दिए । उनको भनाई टिकट नपाएर रुष्ट बनेका पार्टीका नेता कार्यकर्ताप्रति लक्षित थियो ।