रवीन्द्र अधिकारीकै क्षेत्रबाट उनको राजीनामा माग

पोखरा, माघ ५ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ कास्कीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।मन्त्री अधिकारी वाइडवडी जहाज खरिदमा अरबौं रकम घोटला प्रकरणमा मुछिएकाले छानविन प्रक्रिया सहज बनाउन, निष्पक्षता देखाउन एवं संसदीय मर्यादालाई पालन गर्नका लागि राजीनामा दिन माग गरिएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधवप्रसाद बास्तोला ‘मधु’ र विजयराज आचार्यद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा जनताबाट प्रत्यक्ष निर्वाचित सांसद तथा बहालवाला पर्यटन मन्त्री अरबौं रकमको घोटाला प्रकरणमा मुछिनु अत्यन्त घृणित र दुःखद भएको उल्लेख छ ।

संसदको सार्वजनीक लेखा समितिबाट गठित उपसमितिको निर्णयलाई सार्वजनीक लेखा समितिले अनुमोदन गरी कानुनी कारवाहीका लागि अघि बढाइ रहेकोे अवस्थामा सार्वजनीक लेखा समिति र न्यायिक छानबिन समेत प्रभाव पार्ने काम भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

सरकारमा रहेका व्यक्तिले गरेको अपराधको छानबिन सरकारले नै गर्ने भनि उच्च स्तरीय छानविन आयोग गठन गरी संसदीय सर्वाेच्चताको समेत खिल्लि उडाएको उल्लेख छ । आफ्नो छानविन आफैले गर्ने यो कस्तो न्यायिक सर्वाेच्चता हो प्रश्न गर्दै भनिएको छ–‘यस कार्यको घोर विरोध र भत्र्सना गर्दछौं ।’