रवीन्द्रलाई भित्तामा राखेर प्रमोदले गाए–‘याद गर्न पनि कोही न कोही त चाहिने रहेछ’ (भिडियो)

पोखरा, चैत २२ ।
पोखरा सभागृह । खचाखच दर्शकको माझमा लोकप्रिय गायक प्रमोद खरेल झुल्किए, ‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा ।’ दर्शकहरु उनको गायकीमा मज्जैसँग झुमे । २÷४ वटा गीत गाईसकेपछि प्रमोद अलि मलिन बने ।

भित्ताको इलेक्ट्रिक स्क्रिनमा स्व. रवीन्द्र अधिकारीको तस्विर नाचिरहेको थियो । प्रमोदले सुरु गरे एकनारायण भण्डारीको गीत ‘याद गर्न पनि कोही कोही त चाहिने रहेछ ।’ अधिकारीको तस्विरसँग अपरिचित सायदै थिए होला । त्यसैले केहीबेर दर्शकको ध्यान प्रमोदको गीतभन्दा बढी रवीन्द्रको तस्विरमा खिचियो ।

जोडजोडले हुटिङ गरिरहेका दर्शकहरु पनि केहीबेर शालिन बसेर गीत एकटकले सुनिरहे । रवीन्द्र अधिकारीको अघिल्लो महिना ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर दुखद निधन भएको थियो । त्यसपछि गीतले भनेझैं रवीन्द्र अधिकारी अहिले पोखरेलीका लागि यादगार बनेर मस्तिष्कमा बाँचिरहेका छन् ।

बार्दली मिडिया प्रालिले आयोजना गरेको पोखरामा प्रमोद खरेल कार्यक्रममा प्रमोदले आफ्ना लोकप्रिय र चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिए । ‘म विना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गजल गाएर चर्चामा आएका प्रमोद झापामा जन्मिएपनि पोखरा उनको सांगीतिक घर हो । प्रमोदलाई पोखरेली दर्शकसँग जोड्न सांगीतिक साँझ गरिएको बार्दलीका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा प्रमोदसँगै मिना निरौलाले पनि सांगीतिक प्रश्तुती राखिन् भने कलाकार मनोज गजुरेलले हास्यब्यंग्य प्रश्तुती राखेका थिए ।
भिडियाे हेर्नुस् ।